अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

टेक्ससको ह्युस्टनमा नेपालीहरूको आफ्नै मन्दिर: नेपालीहरूको खुसीयाली समारोह

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते १९:३८ मा प्रकाशित

नेप्लिज सोसाइटी अफ ह्युस्टन (एनएएच) द्वारा बृहत्तर ह्युस्टनको रिचमण्ड स्थित कृष्ण प्रणामी फाउण्डेशनको स्वामित्वमा रहेको मन्दिरको स्वामित्व ३ लाख ५० हजार डलर तिरेर प्राप्त गरेको खुसीयाली ह्युस्टनमा बसोबास गर्ने सयौँ नेपालीहरूले आपसमा बधाई साटासाट गरेर मनाए। हिजो नोभेम्बर १२ का दिन मन्दिर परिसर मै आयोजित समारोहको रौनकतालाई ह्युस्टनका नेपालीहरूको खुसीले निकै बढाएजस्तो देखिन्थ्यो। सहभागी नेपालीहरू आफूहरुको सहयोगबाट नेपाली समुदायको नाममा मन्दिरमा हुन सकेकोमा असाध्यै हर्षित देखिन्थे। “आफ्नोपनको मज्जा नै बेग्लै, यही मन्दिर पहिले कति पटक आइयो, तर आज आउँदा अर्कै उत्साह र उमंग लागिरहेछ, सायद यसैलाई भनिन्छ होला अपनत्व”, नेपालीहरूको आफ्नै मन्दिर भएको उत्सव समारोहमा सहभागी अमित बरालले खुसी व्यक्त गर्दै गर्दा समारोहमा सहभागी सबै ह्युस्टनका नेपालीहरूको अनुहारमा पनि बराल दम्पतिको जस्तै खुसी छचल्किरहेको प्रस्ट देखिन्थ्यो। करिब ३५० जति नेपालीहरू आफ्ना परिवारका सदस्य सहित सहभागी समारोहमा ह्युस्टनबासी नेपाली समुदायसँग खुसी साट्न एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र वरिष्ठ उपाध्यक्ष सुनिल शाह र कार्यसमितिका सदस्यहरू डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने, प्रवक्ता विनोद तिवारी, एनआरएन-अमेरिका केन्द्रीय हेल्पडेस्क कमिटीका सदस्य थलराज पन्त र मिडिया कोअर्डिनेटर बाल जोशी, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल सहित आधा दर्जन बढी पदाधिकारीहरुको सहभागिताले ह्युस्टनका नेपालीहरूलाई थप खुसी र उत्साहित बनाइरहेको महसुस सहजै गर्न सकिन्थ्यो।

शिव अभिषेक पूजा सहित छोटो औपचारिक कार्यक्रम र प्रसाद ग्रहणको कार्यक्रम समेटिएको मन्दिर-उत्सव समारोहलाई एनआरएन अमेरिकाका अध्यक्ष डा. पौडेलले सम्बोधन गर्दै समस्त ह्युस्टनबासी नेपालीहरूलाई बधाई दिएका थिए। प्रवासमा नेपालीहरूको आफ्नै मन्दिर अनि सामुदायिक भवन हुनु भनेको सबै नेपालीको लागि गौरवको विषय हो। ह्युस्टनका नेपालीको गौरव र खुसीयालीको अवसरमा एनआरएन अमेरिकाको तर्फबाट सहभागी हुन पाएकोमा डा. पौडेल निकै खुसी देखिन्थे। उनले खुसी मात्र बाँडेनन्, आफ्नो तर्फबाट ५ हजार डलर सहयोगको घोषणा समेत गरे। यस अतिरिक्त नेपाली समुदायले बनाउने सबै सामुदायिक भवन र मन्दिरलाई एनआरएन अमेरिकाको तर्फबाट समेत संस्थागत सहयोग गरिने जानकारी गराए। एनआरएन-अमेरिकालाई सबै नेपालीहरूले साझा संस्थाको रूपमा महसुस गर्न सक्ने बनाउने तर्फ अहिलेको कार्यसमितिको ध्यानकेन्द्रीत रहेको जानकारी दिँदै ह्युस्टनको नेपाली समाजसंग मिलेर काम गर्न एनआरएन अमेरिका सधैँ तत्पर रहेको बताए।

कार्यक्रममा एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले ह्युस्टनका नेपालीहरूको मन्दिर अभियानमा एनआरएन टेक्सस च्याप्टर र डाल्लासको नेपाली समुदायको तर्फबाट समेत सहयोग जुटाउन लागि पर्ने जानकारी गराउँदा दुई नेपाली समुदायबीचको अपनत्व झल्किरहेको थियो। यो अपनत्व दर्साउन डालास कै स्थायी बासिन्दा एनआरएन-अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले व्यक्तिगत १ हजार डलरको सहयोग घोषणा गरे। अमेरिकी नेपाली समुदायको पहिलो नेपाली मन्दिर र सामुदायिक भवन बनाउन सफल डालासको नेपाली समुदायबाट सहभागी नेपाली समाज टेक्ससका वर्तमान अध्यक्ष कृष्ण लामिछाने, पूर्व अध्यक्ष उत्तम लामिछाने तथा पूर्व महासचिव विजयराज भट्टराईले ह्युस्टनको नेपाली समुदायको खुसीयालीमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै डालासको नेपाली समुदाय ह्युस्टनको नेपाली समुदायलाई आवश्यक सहयोग दिन जहिल्यै लागिपर्ने बताए।एनएएचका महासचिव विष्णु नेपालद्वारा सञ्चालित औपचारिक कार्यक्रममा अध्यक्ष ज्योति घिमिरेले अतिथि तथा सहभागीहरुलाई स्वागत गर्नुका साथै मन्दिर खरिद प्रक्रियामा सहयोग पुय्राउने नेपाली समुदायका सबैप्रति धन्यवाद र आभार प्रकट गरेका थिए। हालको मन्दिर संरचनालाई नेपाली शैलीको मन्दिर बनाउन पूनर्रसंरचनाको काम, सभाहल/सामुदायिक भवनको बिस्तार, फुटबल मैदानको निर्माण, पार्किंग लटको बिस्तार र बाल उद्यान लगाएतका संरचना निर्माणको काम समेतलाई निरन्तरता दिने योजना अध्यक्ष घिमिरेले सार्वजनिक गरे। कोषाध्यक्ष रविन श्रेष्ठले मन्दिर निर्माणको क्रममा आर्थिक सङ्कलन अभियानको विवरण सार्वजनिक गरेका थिए भने सल्लाहकार एवं मन्दिर अभियानका संयोजक दिनकर अमात्यले अतिथि तथा मन्दिर अभियानमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेकाथिए। ३०८ नेपाली परिवारबाट प्राप्त नगद सहयोग २ लाख ९८ हजार डलरमा संस्थाका सल्लाहकार दिनकर अमात्यबाट प्राप्त निर्ब्याजी ऋण ५२ हजार डलर थपेर ३ लाख ५० हजार डलरमा मन्दिर खरिद भएकोले मन्दिरको आगामी भौतिक संरचना निर्माणमा नेपाली समुदायलाई थप सहयोग गर्न एनएएचले अपिल गरेकोछ।

कार्यक्रमको दौरान हर्रिकेन हार्भी प्रभावित ह्युस्टनका ४ नेपाली परिवारलाई एनआरएन टेक्सस च्याप्टरले सहयोग गरेको ८ हजार र एनएएचले थप गरेको एक हजार डलर सहितको सहयोग रकम एनएएचका अध्यक्ष जोति घिमिरे र एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

मन्दिर-उत्सवमा सहभागी हुन आएका सहभागीहरुलाई भि-केयरले एनएएचसंगको सहकार्यमा निःशुल्क फ्लु-भ्याक्सिनको व्यवस्था गरेर नेपाली समुदायबीच एउटा स्थापित सामाजिक स्वास्थ्य संस्थाको रूपमा निरन्तर उपस्थिति देखाइरहेको थियो। भि-केयरका कार्यकारी अधिकृत द्रोण गौतमका अनुसार ४२ जना नेपालीहरूले फ्लु-भ्याक्सिन लिएका थिए।

फोटो: सौगात पण्डित

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू