अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

विश्वभरिका होटेल स्कुलहरूको सम्मेलन नेपालमा हुने

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते १४:०० मा प्रकाशित

होटेल व्यवस्थापन कलेजहरूको अन्तर्राष्ट्रिय सङ्गठनमा नेपाल

विश्वभरिका होटेल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटेल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एशोसियसन अफ होटेल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा, EUHOFA International)मा पहिलो पटक नेपाल निर्वाचित भएको छ ।

इटालीको लुकामा भएको इयूहोफा इन्टरनेशनलको ५६ औँ कङ्ग्रेसले नेपाललाई बोर्ड सदस्यका रूपमा निर्वाचित गरेको हो । नेपालका तर्फबाट राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँ उक्त महासभामा सहभागी हुनुहुन्थ्यो ।

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २ सय होटेल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटेल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटेल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासहरूको अनुसरण गर्ने, विद्यार्थी तथा शिक्षकहरूको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको हो ।

लुकामा सम्पन्न सम्मेलनले सन् २०१८ को कङ्ग्रेस विश्वकै पहिलो होटेल स्कुल स्विजरल्यान्डको लुजानस्ति इएचएल स्थापनाको १२५ औँ वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कङ्ग्रेस नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

“विश्वका दुई सय होटेल व्यवस्थापन स्कुलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । यो नेपालको पर्यटन उद्योगकै ठुलो उपलब्धि हुनेछ, किनकि सम्मेलनमा एक साथ आउने दुई सय होटेल व्यवस्थापन शिक्षा प्रदायकहरूले प्रवाह गर्ने सन्देशले विश्वभरि नै नेपालको पर्यटन उद्योगको प्रचारप्रसारमा निकै ठुलो योगदान पुग्नेछ,” इयूहोफाका बोर्ड बैठकको निर्णयपछि गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू