अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

उम्मेदवारको भोट माग्ने तरिका देख्दा मतदाता फुरुङ्ग

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते २:२९ मा प्रकाशित

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मिति नजिक आइरहेको अवस्थामा मुलुक अहिले निर्वाचनमय भएको छ ।

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचनको प्रचारप्रसारले अहिले निकै तीव्रता पाएको छ । निर्वाचनको प्रचारप्रसारको समाचारले अहिले अखबारका पाना भरिपूर्ण छन् भने रेडियो÷टेलिभिजनका सबैजसो कार्यक्रम र गतिविधि निर्वाचन केन्द्रित रहेको पाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीका ११ हजार २७९ उम्मेदवार मतदातालाई आफू, आफ्नो दल र गठबन्धनको पक्षमा मत तान्न मतदाताको घरदैलो अभियानमा छन् ।

अघिपछि चिनेको नचिने झैँ गर्ने नेता एकाबिहानै विभिन्न साइनो जोडेर एक्कासि ढोका अघिल्तिर हात जोडेर भोट माग्न आएको देख्दा मतदाता फुरुङ पर्ने गरेका दृश्य बाक्लै देखिएको छ । कहिल्यै चिनजान नभएका व्यक्तिले एक्कासि चिन्नु भो ? भनी साइनो लगाउँदा कतिपय मतदाता त छक्क पर्ने गरेका छन् ।

मतदाताले खास गरी स्थान विशेष खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, रोजगारी, सडकका मुद्दा अघि सार्दै त्यसको सुनिश्चित गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएको भेटिएको छ । मुलुकमा पछिल्लो समय दलबीच भएको चुनावी गठबन्धनले आफूहरुलाई खासै असर नपरेको बताउँदै धरैजसो मतदाताले दल विशेषभन्दा पनि जनहितको पक्षमा काम गर्नेलाई मतदान गर्ने जनाउ दिएका छन् ।

निर्वाचनको प्रचारप्रसारमा जुटेका नेता, कार्यकता र उम्मेदवार बालिनाली भित्र्याउन व्यस्त रहेका मतदातालाई भेट्न पाखा, पखेरा, र खलामा हुलका साथ पुगिरहेका छन् । कतिपय उम्मेदवारले मत आफ्नो पक्षमा ल्याउन धान काट्ने, कोदो टिप्नेदेखि हलो जोत्ने कार्यमा समेत सहयोग पु¥याउने गरेको भेटिएको छ ।

भोट माग्ने क्रममा कतिपय नेता तथा उम्मेदवारले पूरा गर्ने नसक्ने आवश्सासन दिइरहेका तथा कतिपयले भने मतदातालाई प्रभाव पार्ने खालका गतिविधि सञ्चालन गरेको विषय आम सञ्चारका माध्यमबाट सार्वजनिक हुँदै आएको छ ।

प्रतिनिधिसभाको पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले निर्वाचमा अधिकतम रु २५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा तोकिएको छ भने सोही निर्वाचन प्रणालीतर्फ प्रदेशसभाको उम्मेदवारले रु १५ लाख सम्म खर्च गर्न पाउनेछन् ।

त्यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्या अनुसार प्रतिनिधिसभा उम्मेदवारले रु दुई लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले प्रति उम्मेदवार रु एक लाख ५० हजार खर्च गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले सबै उम्मेदवारले समान ढङ्गबाट निर्वाचनको प्रचारप्रसारको अवसर प्राप्त होस् र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउने हेतुले निर्वाचन आचारसंहिता उलंघन गर्ने विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आगामी प्रतिनिधिसा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ४९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाएका छन् भने प्रत्यक्षतर्फ ८८ राजनीतिक दलले भाग लिएका छन् । आगामी दुवै चरणको निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार ९३४ रहेको छ ।

पछिल्लो समय खर्च गर्न पाउने सीमाभन्दा निक्कै धरै उम्मेदवारबाट पैसाको चलखेल भएको सूचना पाएको जनाउँदै आयोगले त्यस्ता उम्मेदवारको निगरानी राख्न सरोकारवाला निकायलाई निर्देशन समेत दिइसकेको छ । निर्वाचन आचारसंहिता उलंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म गर्ने चेतावनी दिँदै निर्वाचनको अनुगमन र कारबाहीलाई चुस्त तुल्याउने अठोट व्यक्त गरेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू