अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

कम्युनिस्ट शासन भएमा प्राप्त नागरिक अधिकार सबै गुम्छ: प्रधानमन्त्री शेरबहादुर देउवा

बिआरटीनेपाल २०७४ कार्तिक २४ गते १०:४२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट नेताहरूले भने जस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार गुम्ने बताउनुभएको छ । २०४६ सालको जनआन्दोलनका कमाण्डर तथान नेपाली काँग्रेसका सर्वोच्च नेता लौहपुरुष गणेशमानसिंहको १०२ औँ जन्मजयन्तिको अवसरमा शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले गणेशमान सिंह सहित नेपाली काँग्रेसका नेताहरूले आफ्नो जीवनको पर्बाह नगरीकन नागरिक हक-अधिकारका लागि जीवनभर सङ्घर्ष गरेको कारण नेपाली जनताले अहिले निर्वाध रूपमा मौलिक हक प्रयोग गर्न पाएको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसको नेतृत्वमा भएको २००७ सालको जनक्रान्तिले राणा शासनको अन्त गराई नेपालमा प्रजातन्त्र ल्याएको प्रसङ्ग उल्लेख गर्दै उहाँले लोकतान्त्रिक पद्धतिको विकासको लागि पहिलो निर्वाचन गराउन काँग्रेसले झन्डै ८ वर्ष राजासंग सङ्घर्ष गर्न परेको पनि बताउनु भयो ।

२०१५ सालको आम चुनावमा दुईतिहाइ सिट जितेको नेपाली काँग्रेसको सरकार र संसद् नै राजाले अपदस्थ गरेर तत्कालीन प्रधानमन्त्री बि.पी.कोइराला,सभामुख कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह लगायतका वरिष्ठ मन्त्री र काँग्रेस नेताहरूलाई जेलमा राखेपछि पनि उहाँले लोकतान्त्रिक शासन व्यवस्थाको पुनर्वहालीका लागि गर्नुभएको त्याग र जेलमुक्त भएपछि २०४६ सालको आन्दोलनको कुशल नेतृत्व गरेर लोकतन्त्रको बहाली गराउने उहाँको नेतृत्व क्षमताको पनि उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनको चर्चा गर्दै नेपाली काँग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिष्टहरुले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकोले उनीहरूको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुन पनि बताउनुभयो

उहाँले लोकतन्त्रमा मात्र नागरिकका अधिकारहरू सुरक्षित हुने उल्लेख गर्दै कम्युनिस्ट शासनमा सबै अधिकार गुम्ने र त्रासको वातावरण कायम हुने चर्चा गर्दै लोकतन्त्रमा मात्र भयमुक्त वातावरण रहिरहने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गणेशमान सिंहको त्याग र बलिदानबाटै वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।

गणेशमान सिंहलाई संसदीय व्यवस्थाको स्थापना र विकासका लागि जीवनभर सङ्घर्ष गरेको त्यागी पुरुषको संज्ञा दिँदै उहाँले नेपाली जनतालाई राणाहरुको रैतीको स्तरबाट सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नागरिकको स्तरमा ल्याउन स्व.गणेशमान सिंहले गर्नुभएको महत्त्वपूर्ण योगदानको चर्चा गर्नुभएको थियो ।

नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका काँग्रेस नेता सिंहले गणेशमान सिंह सहित नेपाली काँग्रेसका नेताहरूको अगुवाईमा सात दशकदेखि भएको सङ्घर्षले प्राप्त नागरिक अधिकारलाई कम्युनिष्टहरु मिलेर अपहरण गर्न लागेको आरोप लगाउनुभयो ।

उहाँले कम्युनिष्टहरुले १० वर्षमा नेपालमा कम्युनिस्ट शासन ल्याउने षड्यन्त्र गरेको जिकिर गर्दै जनताको बलिदानबाट प्राप्त अधिकारको रक्षा गर्न नेपाली काँग्रेसलाई बहुमत दिलाउनु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले कम्युनिष्टहरुले मौका पाए लोकतन्त्र नै सखाप पार्ने भएकोले लोकतन्त्रको उपभोग गरिरहेका नागरिकहरू उनीहरूसँग सजग हुनुपर्ने उल्लेख गर्नुभयो । नेता सिंहले भर्खर च्याउ झैँ उम्रिएका नयाँ पार्टीका नक्कली कुरा र सपनाका पछाडि नलाग्न पनि मतदाताहरुसंग आग्रह गर्नुभयो ।

उहाँले कसैलाई हतार भयो भन्दैमा सातै दिनमा धानको बीउ विकसित भएर धानको बालामा परिणत नहुनै पनि स्पष्ट पार्नुभयो । काँग्रेसको नेतृत्वमा २००७ सालदेखि २०६२/६३ सालसम्मका सबै आन्दोलनहरू सफल भएको र हरेक आन्दोलनपछि काँग्रेसकै नेतृत्वमा संविधान पनि जारी भएकोले त्यसलाई कार्यान्वयन गर्न काँग्रेस कै नेतृत्व आवश्यक रहेको पनि जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले गणेशमान सिंह नेपाली राजनीतिका त्याग,तपस्या र बलिदानको अर्को नाम भएको उल्लेख गर्नुभयो । उहाँले गणेशमान सहित नेपाली काँग्रेसका नेताहरूको त्याग, तपस्या र शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक शासन पद्धतिलाई नेपालका कम्युनिस्टबाट खतरा उत्पन्न भएको उल्लेख गर्दै यसको रक्षाको लागि आउदो चुनावमा नेपाली काँग्रेसलाई बहुमतले जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा पूर्व राजदूत निलाम्बर आचार्य, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र पूर्व प्रधान सेनापति रुक्माड.्गत कट्वालको पनि अतिथिको रूपमा उपस्थिति रहको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू