अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

बेहोस अवस्थामा नेपाली सेनाका जवान फेला

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते २२:४८ मा प्रकाशित

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ स्थित जङ्गलमा बुधवार साँझ नेपाली सेनाका एक जवान बेहोस अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलका अनुसार गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जङ्गलमा सर्लाही जिल्लाको नवलपुरस्थित पाँचकुमारी नेपाली सेना ब्यारेकमा कार्यरत एक जवान बेहोस अवस्थामा फेला परेका हुन् ।

महोत्तरी जिल्लाको बेलगाछी–८ भंटाबारी घर भएका २५ वर्षीय नेपाली सेनाका जवान विजयकुमार महतो बेहोस अवस्थामा फेला परेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

केही बोल्न नसक्ने गरी बेहोस भएका जवान महतोलाई प्रहरीले बर्दिबासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाएको छ ।

शुक्रवार आफू कार्यरत ब्यारेकबाट दुई दिनको छुट्टीमा घर आएका जवान महतो आइतबार बिहान खाना खाएर ब्यारेक फर्किदै गर्दा उनी ब्यारेक फर्किन सकेका थिएनन् ।

मङ्गलवार उनी कार्यरत ब्यारेकबाट जवान महतो फिर्ता नआएको भन्दै परिवारजनलाई खबर भएपछि परिवारजनले मङ्गलवार बेलुका नै इलाका प्रहरी कार्यालय, गौशालामा हिँडिसकेको खबर गरेपछि मङ्गलवार रातीदेखि जवान महतोको खोजीमा परिवारजन, छिमेकी र प्रहरीसहितको टोली जङ्गलमा खोज्न गएका थिए ।

तर प्रहरीसहितको टोलीले बुधवार अबेर साँझ मात्रै जवान महतोलाई गौशाला–८ स्थित सागरनाथ वन विकास परियोजनाको जङ्गलमा रहेको एक खोल्साको बालुवामा भासिएर बेहोस अवस्थामा फेला पारेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

जवान बिल्कुलै बोल्न नसक्ने अवस्थामा फेला परेपछि प्रहरीले उनलाई बुधवार अबेर साँझ बर्दिबासस्थित जनसेवा अस्पतालमा ल्याएर प्राथमिक उपचार गराए पनि उनको अवस्थामा कुनै सुधार नआएपछि गएराति उनलाई काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा पठाइएको र अहिले उनको उपचार सोही स्थानमा भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

जवान महतोको कसैले कुटपिट गरी हत्या गर्ने प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ भने जवान महतो बोल्ने भएपछि मात्रै सही कुरो बाहिर आउने इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू