अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 00:10

फुल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ११:३३ मा प्रकाशित

ढकमक्क फुलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फुलबारीमा आउँछन् । ग्राहकलाई फुल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।

बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा सुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही वर्ष पढाएर गुरुङले एउटा गैरसरकारी सस्थामा काम गर्नुभयो । त्यहाँको जागिर पनि छोडेर गुरुङले तीन वर्षअघिबाट पुष्प व्यावसाय सुरु गर्नुभएको हो ।

पुष्प व्यवसाय सुरु गर्नुभएकी गुरुङ जिल्लामै एक्लो हो । उहाँले यसलाई सम्भावनाको पेसाका रूपमा चिनाउनुभएको छ । सुरुमा फुल व्यवसाय पनि हुन्छ र ? भनेर गुरुङको खिल्ली उडाउनेहरु अहिले उहाँकै नर्सरीमा फुल किन्न पुग्ने गर्दछन् ।

“फुलको पनि खेती हुन्छ र भन्नेहरु अहिले सबैभन्दा महँगो फुल किन्न आउने गरेका छन्,” गुरुङ भन्नुहुन्छ ।

पुष्प व्यवसायबाट नैै मासिक रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्न सकेको उहाँले बताउनुभयो । फुल, बिरुवा, दुवो र बगैँचा सजावटबाट नै मनग्य आम्दानी हुने गरेको गुरुङको भनाइ छ । “एकै दिनमा डेढलाख रुपैयाँसम्मको फुल बिक्री गरेकी छु”, उहाँले भन्नुभयो, “अरू बेला सामान्यतया दैनिक रु पाँच हजारदेखि रु दश हजारसम्म बिक्री हुन्छ ।”

करिब आठ रोपनी जमिनमा उहाँले मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहाँले पछिल्लो समय दुवोको समेत व्यवसाय सुरु गर्नुभएको छ । तिहार लक्षित गरेर गुरुङले तीन रोपनी जग्गामा सयपत्री जातको फुल खेती गर्नुभएको थियो । तर तिहार अगावै सबै फुल बिक्री भयो । सो बाहेक धूपी, अशोका, क्रिसमस ट्री, सप्लेरिया लगायतका आकर्षक बिरुवा नर्सरीमा उमार्नुभएको छ । उहाँले आफ्नो नर्सरीबाट फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फुलका बिरुवा बिक्री गर्दै आउनुभएको छ ।

फुलको प्रजाति, विशेषता आदिका बारेमा प्रशिक्षण लिँदै अर्को मौसमका लागि बिरुवा उमार्ने तयारीमा गुरुङ हुनुहुन्छ । फुलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि उहाँले झन्डै रु ५० लाख लगानी भएको बताउनुभयो । “मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ”, गुरुङले भन्नुभयो, “ग्राहकको मागलाई थेग्न निकै मुस्किल परेको छ ।”

व्यावसायिक फुल खेतीका लागि जिल्लाकै एक मात्र व्यवसायी भए पनि सरकारी निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ । सरकारी निकायमा सहयोग माग्दा निकै झन्झट बेहोर्नु परेको गुरुङले बताउनुभयो । “सुरु–सुरुमा सरकारी निकायमा सहयोग माग्न गए”, गुरुङले भन्नुभयो, “ आश्वासन पाएँ तर कहिल्यै सहयोग पाइनँ ।”

बिहानदेखि साँझसम्म आपैmँ बारीमा खट्ने गुरुङले अहिले दुईजनालाई रोजगारीसमेत दिनुभएको छ । त्यो बाहेक फुल रोप्ने बेला ज्यालामा खेताला समेत लगाउने गरेको उहाँले बताउनुभयो । नर्सरीमा उत्पादन भएको फुलले बजार पाउँदा आफूलाई निकै खुसी लागेको गुरुङ बताउनुहुन्छ । “फुल र मालाको माग बढ्दा झन् उत्साहित भएकी छु”, उहाँले भन्नुभयो, “आगामी वर्ष अझै विस्तार गर्ने योजनामा छु ।”  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू