अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

खाल्डा पुर्दै कामपा, मङ्सिर पहिलो साता देखि कालोपत्रे

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते २२:१७ मा प्रकाशित

वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्ने काम सुरु गरेको छ ।

वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।

अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि प्रमुख शाक्यले जानकारी दिनुभयो । कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर रु ८० करोड बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

रु ८० करोडमध्ये २५ करोड साना सडकको खाल्डा पुर्नको लागि र रु ५५ करोड काठमाडौँका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताउनुभयो । कामपाका अनुसार मङ्सिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न सुरु गर्ने योजना रहेको छ ।

सडक निर्माणको काम वर्षाको समयमा भन्दा हिउँदमा सहज हुने भएको हुनाले पनि अहिले काम सुरु गरेको कामपाको भनाइ रहेको छ ।

सोमबार प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ का विभिन्न स्थानमा भइरहेको सडक निर्माणको अवलोकन गर्दै सेतीओपी मार्ग कामनपा–३२ मा भइरहेको सडक निर्माणबारे जानकारी लिँदै इञ्जिनियरलाई छिटोभन्दा छिटो तथा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू