अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी र थुनामा रहेका लक्ष्मण थारू कैलालीबाट उम्मेदवार

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते १८:०८ मा प्रकाशित

 दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाइ छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी रूपमा नै फरार अभियुक्तको उम्मेदवारी दर्ता गराएको बताएका छन् । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानुनी प्रवाधान भएको उनको भनाइ छ।एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

रेशमविरुद्ध कसैको पनि उजुरी भने परेको छैन । नेपाल बार एसोसिएसन कैलालीका पूर्वअध्यक्ष गंगाप्रसाद पाध्यायले राज्यको नजरमा फरार अभियुक्तले उम्मेदवारी दर्ता गर्न नपाइने बताए । ‘फरार अभियुक्तले वारेस नै राख्न पाइँदैन,’ उनले भने।

अर्का अधिवक्ता गम्भीर ऐरले कानुनमा वारेस दिन अयोग्य व्यक्तिले वारेसनामा दिन नपाइने स्पष्ट उल्लेख भएको बताए । ‘अयोग्य व्यक्तिले गैरकानुनी रुपमा वारेसनामा दिएका व्यक्तिले उम्मेदवारी दर्ता गर्न पाइँदैन । यो गैरकानुनी हो,’ उनले भने । मुख्य निर्वाचन अधिकृत अर्याल निर्वाचन लड्न पाउने भएपछि फरार व्यक्तिले वारेसनामा पनि राख्न पाइने बताएका छन्।

टीकापुर घटनामा संलग्न भएको भन्दै रेशमविरुद्ध कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र हतियार डकैतीसम्बन्धी ३ वटा मुद्दा जिल्ला अदालत कैलालीमा परेको छ । त्यही मुद्दामा २५ जना २ वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी २ वर्षदेखि फरार छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फरार व्यक्तिले उम्मेदवारी दर्ता गर्ने कानुनबमोजिम भए–नभएको मुख्य निर्वाचन अधिकृतले हेर्ने विषय भएको बताएका छन् । ‘मुख्य निर्वाचन अधिकृतले हेर्ने भएकाले मैले यस विषयमा कुनै ध्यान दिएको छैन,’ उनले भने।

यसैगरी टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण थारूले कैलाली निर्वाचन क्षेत्र ६ मा राजपाबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनले पनि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी स्थानीय जगन्नाथ चौधरीले दर्ता गरेका छन् । उनको उम्मेदवारी भने कानुनसम्मत भएको कानुन व्यवसायीले बताएका छन् । राज्यको नियन्त्रणमा रहेको र अदालतबाट अपराधी ठहर भइनसकेका व्यक्तिले कानुनी रुपमा उम्मेदवारी दर्ता गर्न पाउने अधिवक्ता ऐर बताउँछन्।

तत्कालीन फोरम लोकतान्त्रिकका नेता थारु केही दिनअघि मात्र जेलबाटै राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका थिए । टीकापुरमा घटनाको मुख्य योजनाकार रहेको भन्दै थारुलार्ई पक्राउ गरिएको थियो । उनीमाथि दायर मुद्दा फैसला भएको छैन । आजको नागरिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू