अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

भुटानी शरणार्थीलाई स्वदेश फर्काउन माग

बिआरटीनेपाल २०७४ कार्तिक १८ गते ८:५० मा प्रकाशित

पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् ।

राष्ट्रिय पुनर्मिलन समिति, भुटानले आज शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका हुन् ।

तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका इच्छुक शरणार्थीलाई स–सम्मान स्वदेश फर्काउन समितिको माग छ । आफ्नो देश फर्कन इच्छुक भुटानीलाई भुटानले पनि अब फिर्ता लानुपर्ने र त्यसका लागि दातृनिकायले त्यसमा विशेष सहयोग पु¥याइदिन माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

समितिका अध्यक्ष कृष्णवीर तामाङले जारी गर्नुभएको ज्ञापनपत्रमा तेस्रो मुलुक पुनर्वास प्रक्रियामा सहभागी हुन नचाहेका अधिकांश शरणार्थी शिविरमा रहेकाले अब उनीहरूको समस्या सुनुवाइमा गम्भीरता देखाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

पत्र दमकमा रहेको युएनएचसीआरको कार्यालयमार्फत पठाइएको समितिले जानकारी दिएको छ । समितिले ज्ञापनपत्रमा भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गरेर धेरै शरणार्थीको आधारभूत समस्या हल गर्न सकेकोप्रति सम्बद्ध निकायलाई धन्यवादसमेत प्रकट गरेको छ ।

पछिल्लो समय तेस्रो मुलुक पुनर्वास पछि भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा करिब नौ हजार हाराहारीमा मात्र शरणार्थी रहेको युएनएचसीआरले जनाएको छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू