अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

दक्षिण एसियामै पत्रकार असुरक्षित

बिआरटीनेपाल २०७४ कार्तिक १७ गते ८:१७ मा प्रकाशित

दण्डहीनताका कारण दक्षिण एसियामै पत्रकार असुरक्षित हँुदै गएको पाइएको छ ।

मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले आज आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासङ्घ, मानवअधिकारकर्मीलगायतको छलफलमा दक्षिण एशिकयामै दण्डहीनताका कारण पत्रकार असुरक्षित बन्दै गएको बताइएको हो ।

नेपालको तुलनामा पाकिस्तान र बङ्गलादेशमा लेखेबापत नै सञ्चारकर्मी मारिएका छन् । नेपालमा दशवर्षीय सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट ३५ पत्रकार मारिए र चार बेपत्ता पारिए । त्यसपछि समाचार लेखेबापत नै नेपालमा पत्रकारको ज्यान गएको देखिँदैन तर पाकिस्तान र बङ्गलादेशमा पत्रकार हत्याका घटना ताजै छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधान र कानुनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गर्ने सरकारको नीति तथा कार्यक्रम नै नभएको आरोप लगाउँदै आयोगले गरेको सिफारिसमा १४ प्रतिशत मात्र कार्यान्वयन हुनु दुःखको कुरा हो भन्नुभयो ।

आर्टिकल–१९ नामक संस्थाका दक्षिण एसियाली क्षेत्रमा निर्देशक ततिमा रहमानले दक्षिण एसियाका पाकिस्तान र बङ्गलादेशमा पत्रकार बढी मारिएको र अनुुसन्धान ढिलाइ हुँदा न्याय पाउनसमेत ढिलाइ भएको बताउनुभयो । पाकिस्तान प्रेस फाउन्डेसनका प्रतिनिधि कुरातुलेन अलिले दक्षिण एसियामै पत्रकारलाई समाचार लेखेबापत नै चौतर्फी असुरक्षा बढ्दै गएको बताउनुभयो ।

पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा पछिल्लो समयमा पत्रकारको समाचार लेखेकै कारण हत्या नभए पनि विभिन्न खालका राजनीतिक धम्कीका कारण आलोचनात्मक खालका समाचार स्वनियन्त्रित भएको उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वकालकै समयमा पनि पत्रकारको हत्या गर्ने दोषीलाई महासङ्घले अध्ययन गरेर बुझाएको प्रतिवेदनमाथि छानबिन गरेर कारबाही प्रक्रिया अघि नबढाइएको गुनासो गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा माधवी भट्ट, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक, मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललगायतले नेपालमा पाकिस्तान र बङ्गलादेशको तुलनामा प्रेस स्वतन्त्रताको अवस्था राम्रो भए पनि पछिल्लो समयमा राजनीतिक प्रभावका कारण पत्रकार आत्मकेन्द्रित बन्दै गएको विचार व्यक्त गर्नुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले दण्डहीनता र मानवअधिकार उल्लंघनका कारण पीडित परिवारले न्याय नपाउने तथा पत्रकारले आत्मप्रतिबन्ध गरेर समाचार लेख्ने गरेको बताउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू