अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

प्रतिनिधिसभाका लागि ५९ र प्रदेशसभाका लागि ८७ को उम्मेदवारी

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ९:४३ मा प्रकाशित

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उत्साहजनक सहभागिताका साथ मनोनयन दर्ता सम्पन्न भएको छ ।

पाँच निर्वाचन क्षेत्रमा वामपन्थी गठबन्धन, नेपाली काँग्रेससहितका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ ५९ र प्रदेशसभातर्फ ८७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाका लागि आठ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । विभिन्न क्षेत्रबाट दलबल र झाँकीसहित चन्द्रगढीस्थित निर्वाचनको काार्यलय पुगेका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

झापा क्षेत्र नं १ का लागि प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका दानबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर सुब्बा, मंगोल नेशनल अगनाइजेशनका सन्तोष तामाङ, एकीकृत राप्रपा(राष्ट्रवादी)का भवानीप्रसाद ढकाल र संघीय समाजवादी फोरम नेपालका भक्तबहादुर लिम्बूको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. २ मा प्रतिनिधिसभाका लागि कांग्रेसका उद्धव थापा, वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का पवित्रा निरौला खरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट होमचन्द्र घिमिरे, राप्रपा नेपालका महावीर राई, नेकपा (माले)का खगेन्द्रप्रसाद प्रसाईं, मंगोल नेशनल अर्गनाइजेशनका अकलबहादुर तामाङ, नयाँ शक्ति पार्टीका भक्तबहादुर बुढाथोकी, एकीकृत राप्रपा(राष्ट्रवादी)का वृजकिशोर ठाकुर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मानबहादुर सावाँ लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर, विवेकशील साझा पार्टीका नवीन बास्तोला र नेपाल जनता पार्टीका गणेशप्रसाद शिवाकोटीको उम्मेदवारी परेको छ ।

क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन, मालेका नवराज खरेल, विवेकशील साझाका साजन सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीका सेकेन्द्र राजवंशी, एकीकृत राप्रपा(राष्ट्रवादी)का देवीरमण भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका देवकुमार थेवे, वाम गठबन्धनबाट एमालेका लालप्रसाद सावाँ लिम्बू, विवेकशीलका तुलसीराज उप्रेती, राष्ट्रिय मञ्चका ज्ञानबहादुर इबुङ र एकीकृत राप्रपा(राष्ट्रवादी)का तेजबहादुर थापाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ५ बाट तीन स्वतन्त्रसहित प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका डा खगेन्द्र अधिकारी, वाम गठबन्धनबाट एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जबेगू, मंगोल नेशनल अर्गनाइजेशनका शानबहादुर मेचे, देशभक्त जनगणतान्त्रिक मोर्चाका वासुदेव दुलाल, मालेका घनश्याम गुरागार्इँ, एकीकृत राप्रपा(राष्ट्रवादी)का चेतनाथ थापा, राष्ट्रिय मञ्चका भानुभक्त भट्टराई, विवेकशीलका प्रकाश गौतम, नयाँ शक्तिका भेषराज भट्टराई र संघीय समाजवादी फोरम नेपालबाट सत्यदेव यादव रहेका छन् । यसैगरी इन्द्रप्रसाद न्यौपाने, प्रेमबहादुर खड्का र इन्द्रराज अधिकारीको स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रदेशसभातर्फ ८७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । प्रदेशसभा १ क र खबाट नौ नौ जना तथा क्षेत्र नं २ क र खबाट आठ आठ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै क्षेत्र नंं ३ कर खबाट सात सात जनाकै उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नं. ४ कबाट छ र खबाट १२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नं. ५ कबाट १२ र खबाट नौ जनाको उम्मेदवारी परेको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू