अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

 रौतहटको ‘सन्तपुर एकीकृत नमुना बस्ती’मा १५ घरको जगको काम सकियो 

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ४:५८ मा प्रकाशित

समाजसेवी तथा चर्चित हाँस्यकलाकार जोडि सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरको एकीकृत नमुना सन्तपुर बस्तीमा घरको जग हाल्ने काम सुरु भएको छ । बस्तीमा झण्डै १५ घरको जगको काम सकिएको छ । 

धुर्मुसको जन्मदिनको अवसरमा सिलान्यास गरी काम सुरु गरिएको बस्ती १ महिना नबित्दै जग्गा सम्याउने र वाल लगाउने काम सकि गजको काम समेत सुरु भईसकेको छ । बस्तीमा बिहान ६ बजे सबै उपस्थित भईसक्नछन् र राती करिब ७ देखी ८ बजेसम्म निरन्तर काम गरिनै रहन्छन् । धुर्मुसको रकेटको गतिले काम गर्नुपर्छ भन्ने भनाई साँच्चै यस बस्तीमा लागु भएको पाईन्छ । जुनियर ईन्जिनियर किशोर बर्माका अनुसार अब करिव १५ देखी २० दिनमा जगको काम सकिएर घर निर्माणको काम सुरु हुनेछ । बस्ती निर्माण छिटो र सहज हुनुको कारण बस्तीका स्थानिय बासीहरु र सहयोगीहरुनै मुख्य हुन् । स्थानियले हाम्रो घर बन्दैछ भनेर सोचिदिँदा र त्यहाँका अरु स्थानियले पनि हाम्रै छिमेकीको छर बन्दैछ भनेर देखाउने भाईचारा र सहयोगी भावनाले बस्ती निर्माण द्रुत गतिमा अगाढी बढिरहेको फाउण्डेशनका परियोजना ब्यवस्थापक अर्जुन न्यौपाने बताउँछन् ।

बस्तीमा बसोवास गर्ने स्थनियहरुको बानी व्यवहार र बोलिचालिको भाषा समेत धुर्मुस सुन्तली गएपछि नितान्त परिवर्तन भएको छ । बस्ती हेर्न जाने पर्यटकहरुलाई उनिहरुले गर्ने सत्कार र सम्मानमा बिल्कुलै परिवर्तन आएको छ । कोही नयाँ मान्छे आफ्नो स्थानमा आउँदा उनिहरु हाँसेरै बोल्छन् । पहिले राम्रो संग नबोल्ने, बोल्न डर मान्ने, नयाँ मान्छेसंग छिट्टै नखुल्ने स्थानिय बासीहरु अहिले मज्जाले खुल्छन् अनि बोल्छन् पनि । बस्तीका स्कुल नजाने बालवालिकाहरु स्कुल जान थालेका छन् । सरसफाई र खानपिनमा निकै ख्याल गर्न थालेका छन् । मानौ स्थानियहरु अहिले एउटा सुन्दर र सफा बस्तीमा बसिरहेका छन्, बिना फोहोर, बिना होहल्ला अनि सफा र चिटिक्क ।

यसअघि पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकीकृत नमुना मुसहर बस्ती करिव ३ महिनाको अवधीमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको थियो । हुनत मुसहर बस्ती र सन्तपुर बस्तीमा खासै फरक छैन् । मुसहर बस्तीको वातावरण र यहाँको वातावरण लगभग मिल्दोजुल्दो नै छ । स्थानियहरुमा भने केही भिन्नता । यहाँका मानिसहरु मुसहर बस्तीका भन्दा अलि बुझ्ने देखिन्छन् । भनेको कुरा सजिलै मान्ने अनि आफु निणर्य गर्न सक्ने क्षमता भने सन्तपुर बासीहरुमा छ । तर उनिहरुको आर्थिक स्थिती कमजोर हुनाले पनि उनिहरु समाजमा हेपिएका थिए । बषौं देखिको गरिवीको चपेटा, सामाजिक रुपमा पिछडिएको, अशिक्षा, बेरोजगार जस्ता समस्याको चेपमा परेका यि स्थानिय बासीहरु अहिले आफ्नो घर धुर्मुस सुन्तलीले बनाउन लाग्दा निकै खुसी देखिन्छन् । हुनत उनिहरुले धुर्मुस सुन्तलीको मुसहर बस्ती बनेको समेत थाहा पाएका रहेछन् । एक स्थानिय भन्छन् ‘धुर्मुस र सुन्तली त हाम्रो भगवाननै बनेर आउनुभएको छ । यदि हाम्रो लागि कोहि भगवान वा त्यो भन्दा ठुलो मान्छे छन् भने धुर्मुस सुन्तलीनै हुन् ।’

तर धुर्मुसलाई भने आफु भगवान भएको महशुस नै हुदैन् रे । उनि भन्छन् ‘हामीले त बस्ती निर्माणमा सहजिकरणको भुमिका मात्र खेलेका हौं सहयोग दिने त हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुनै हुन् । हाम्रो लागि र स्थानियहरुका लागि भगवान त ति सहयोगी मनहरुनै हुन्, जसले हरेक परियोजनालाई सहज रुपमा आर्थिक तथा अन्य सहयोग प्रदान गरि निर्माण सम्पन्न गरिदिनुभएको छ । होला हामीले बस्तीको छनौट गर्यौं, पिडितहरुको पहिचान गरि उनिहरुका लागि व्यवस्थित र अर्थपुर्ण बस्ती निर्माणको पहिलो पाईला टेक्यौं, तर हाम्रा लागि पनि ति सहयोगी मनहरुले सहयोग नदिएको भए यो सबै सम्भव हुदैनथ्यो । त्यसैले मर्लाइ हाम्रो हरेक परियोजना सफल बनाउन सहयोग गर्ने हाम्रा दर्शकहरुनै भगवान हुन् भन्ने भान हुन्छ ।’

धुर्मुस सुन्तली फाउण्डेसनले भुकम्प पछि पुननिर्माण र दुखी, पिडित तथा असाहायहरुका लागि काम गरिरकेको छ । फाउण्डेशनले निर्माण गर्ने यो बस्ती ५ करोड ७५ लाख लगानी हुनेछ र यो सम्पुर्ण रकम सहयोगी मनहरुबाट संकलन गरिरहेको फाउण्डेशनले जानकारी दिएको छ । फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार फाउण्डेशनलाई बस्ती निर्माणका लागि करिव २ करोड सहयोग संकलन  भएको र ३ करोडको हाराहारीमा सहयोग संकलन हुन बाँकी छ । माघ २४ गते बस्ती हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य नजिकै आईसकेपनि अझै थुप्रै सहयोग संकलन हुन बाँकी रहेकाले फाउण्डेशनकी उपाध्यक्ष कुन्जना घिमिरे कसरी सहयोग संकलन गर्ने भन्ने कुराले चिन्तीत देखिन्छिन् । तर पनि उनलाई सहयोग संकलन हुन्छ भन्ने कुरामा विश्वास छ । उनि भन्छिन् ‘हाम्रा हरेक परियोजना सहयोगीहरुकै कारण निर्माण सम्पन्न भएका हुन्, उहाँहरु बिना त हामी अधुरो छौं । सबै सहयोगी मनहरुले हामीले सहयोग गर्नुपर्छ भनेर सहयोग दिनुभयो भने हामीलाई सहयोग संकलन गर्न गाह्रो हुदैन् र सबैलाई बस्ती निर्माणमा सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछु ।’

फाउण्डेशनले निर्माण गर्ने उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा ५० वटा आवासिय घरहरु सहित एउटा सामुदायिक भवन, सार्बजनिक धाराहरु, सौचालय, मन्दिर, बस्ती अवलोकनका लागि भ्यु टावर सहितको कम्पाउण्डले घेरिएको एउटा अर्थपुर्ण बस्ती बन्नेछ । फाउण्डेशनका परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेका अनुसार एउटा घरको लागत १० लाख लाग्ने अनुमान गरिएको छ भने बस्तीमा दुई तल्ले घर निर्माण हुनेछ । एउटा घर लगभग साँढे ३ धुर जग्गामा निर्माण हुनेछ । घर पुर्ण रुपमा भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री र बातावरण मैत्री हुनेछन् ।

Posted by Sitaram Kattel on Tuesday, October 24, 2017

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू