अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

भाइटिकाले बनेका नेपाली दाइ र जापानी बहिनी

बिआरटीनेपाल २०७४ कार्तिक ७ गते १०:५८ मा प्रकाशित

अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन । भाइटिकापछि जापानी हारुका ताकेउची बहिनी बनिन् । उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने । प्रायः चलचित्रमा देखिने यस्ता दृश्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ । यो दृश्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो ।

दीर्घायुको कामनाका साथ दानदक्षिणा र उपहार आदानप्रदान गरेर मनाइने भाइटिका पर्वमा एकापसमा परिचित नभएका उनीहरू टीका र माला लगाएर दाइ र बहिनी बनेको यो दृश्य जापानका नेपालीमाझ पनि नौलो भयोे । दिदीबहिनी नहुनेले अर्कैलाई दिदीबहिनी बनाएर टीका लगाउने चलन नेपालमा सीमित यो चलन जापानमा पनि देखिएको हो ।

नेपाली कला संस्कृति प्रतिको मायाले नेपाली हिन्दुको चाड तिहारमा जापानीले केटालाई दाइ र आफू बहिनी बनेर टीका लगाउने काम मात्र भएन, यहाँका नेपाली महिलालाई दिदी र बहिनी बनाएर र बनेर टीका लगाउने पनि देखिएका थिए । देउसी भैलोमा पनि सहभागिता जनाएका उनीहरूले नेपाली सरह नगद, फलफुल र मिठा परिकार बनाएर लक्ष्मीको पनि पूजा गरे । नेपाली छोरी बन्न पाएकामा ताकेउची खुसी थिइन् । उनले स्थानीय नेपाली पसलबाट कुर्ता, सुरुवाल र पछ्यौरी पनि किनेकी थिइन् । उनले अरू जापानी साथीलाई साडी र ब्लाउजमा टीका लगाउने व्यवस्था मिलाएकी थिइन् । टोकियोमा युका चुचुई र ताकेउचीलगायतले टीका थापेका थिए ।

टोकियो बाहिर सेन्डाइ र होक्काइदोमा पनि जापानीले नेपालीलाई दाइभाइको नाता लगाएर सप्तरंगी टीका र माला लगाएका छन् । उनीहरू टीका र माला लगाएर दाइभाइ र दिदीबहिनी बनेका दृश्य अनौठा थिए । भाइटिकामा गरिएको यस कार्यलाई उनीहरूले नेपाल र नेपालीको माया, सद्भाव तथा विविधतामा एकता भएको बताएका छन् ।

कुकुरलाई माला लगाएर तिहार भित्र्याएका नेपालीले सेल रोटी, फिनी, लड्डु, रसबरीलगायत मिठा परिकार बनाएको र मादल, गीतारमा भट्याएर नाचेको परम्परागत देउसी भैलोमा पनि जापानीले उत्साहित भएर अवलोकन गरेका थिए । भाइटिका लक्षित सप्तरंगी फुल, टीका, माला र मिठा परिकार बाहिरै बिक्रीका लागि राखिएका पसलमा जापानीसगैं अन्य विदेशी घोरिएका हुन्थे । कला संस्कृतिको जगेर्ना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले टीका थापेर तिहारलाई बिदाइ गरेका छन् । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका, नागोया ,फुकुओका लगायत स्थानका नेपालीले भने पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभसाइत(जापानी समयानुसार ३ बजेर ५ मिनेट) मा टीका लगाएका थिए । टोकियोका धेरै स्थानमा सामूहिक रूपमा खेलिएको देउसी भैलोमा तडक भडक र बढ्दो विकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरिएको थिएन ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू