अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

कारबम आक्रमणमा हत्या गरिएकी अफ्रिकी चर्चित पत्रकार करुआना भ्रष्टविरुद्ध लेख्थिन्

बिआरटीनेपाल २०७४ असोज ३१ गते २०:२० मा प्रकाशित

अफ्रिकी देश माल्टाकी चर्चित पत्रकार डाफ्ने करुआना गलिजियाको सोमबार कार बम आक्रमणमा हत्या भएको छ । ५३ वर्षीया गलिजिया विडनजास्थित घरबाट निस्केको केहीबेरमै आक्रमणमा परेकी थिइन् । उनी ब्लगमार्फत देशका शीर्ष नेताको भ्रष्टाचारका सूचना सार्वजनिक गरेर चर्चित थिइन् ।

 डाफ्ने करुआना गलिजिया माल्टा सरकारको कडा आलोचक थिइन् । उनले गत जुनमा भएको निर्वाचनमा प्रधानमन्त्री जोसेफ मस्कटले गरेको अनियमितताबारे पनामा पेपर्समा विवरण प्रकाशन गरेकी थिइन् । त्यसपछि मस्कट र उनकी पत्नीले विदेशी बैंकमा गैरकानुनी सम्पत्ति लुकाएको पर्दाफास भएको थियो । उनका छोरा म्याथ्यु करुआना गलिजियाले आमाको मृत्युका लागि ‘माफिया राज्य’ जिम्मेवार रहेको बताए । उनले भने, ‘मेरी आमा कानुनी शासनको उल्लंघनकर्ता विरुद्ध उभिएकी थिइन्, त्यसैले हत्या भयो ।’

गलिजियामाथि आक्रमण हुँदा म्याथ्यु नजिकै थिए । उनले आमालाई जलिरहेको गाडीबाट उद्धार गर्न नसकेकोमा दु:ख व्यक्त गरे । आमाको ज्यान जानुमा माल्टा प्रहरीको असफलता र सरकारको दण्डहीनता जिम्मेवार भएको उनले बतााए । ‘जब राज्यका निकाय असक्षम हुन्छन् तब कुनै पनि गलत कार्यको विपक्षमा अन्त्यमा उभिने पत्रकार नै हुन्छन्’, उनले भने, ‘मेरी आमाले पनि त्यही कारण ज्यान गुमाउनुपर्‍यो ।’ म्याथ्यु आफैं पनि पत्रकार हुन् । उनले अब आफू माल्टालाई स्वतन्त्र पश्चिमी देश बनाउने सपनामा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । (बीबीसी)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू