अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१० | Colorodo: 00:25

फेसबुकको सेरोफेरोमा आज

लेखनाथ भण्डारी २०७४ असोज ३१ गते १४:०२ मा प्रकाशित

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । कहिले कसैलाई हसाउँछ त कहिले कसैलाई रूहाउँछ । गीतकार राजेन्द्र रिजालको रचना र दीपक खरेलको स्वरमा रहेको यो सदबाहर नेपाली गीत युट्युवमा बज्न सुरु गरेको छ यतिखेर अर्थात् फेसबुकमा आँखा लगाउंदै गर्दा ।

सामाजिक सञ्जाल अर्थात् फेसबुकले यस्तै अनेक अनुभूतिहरू एक आपसमा बाँड्ने गरेको छ आजभोलि । आजको एकाध घण्टा फेसबुकमा यस्तै केही सन्देश र सङ्केतहरू पढ्न पाइयो । तीमध्ये यहाँ ३-४ जना व्यक्तित्वहरुको सन्देशका सम्बन्धमा सामान्य चर्चा गर्ने प्रयास गरेको छु-आफ्नो सम्पर्क सम्बन्ध र अनुभुतीहरूलई जोडेर ।

पत्रकार भरत पोख्रेलजीले डाक्टर बाबुराम भट्टराईको बारेमा लेख्नु भएको रहेछ-
‘देखाउनैका लागि भए पनि बाम धारमा डा. बाबुराम भट्टराईको एउटा स्थान थियो । तर पछिल्लो कालमा यिनी त देब्रे भित्तो र दाहिने भित्तोमा ठोक्किदा ठोक्किदै निधार भरी टुटुल्कै टुटुल्का बोकेका अनौठा पो देखिने भए बा !’

भरतजीसङ्ग सङ्गत गरियो र मित्रता पनि रह्यो । डेढ दशकयता काठमाण्डूमा बागबजार टुकुचाको सबै फोहोर पानीले पखालिसक्दा त्यस आसपासको हाम्रो मित्रता र सङ्गतको सम्झना नहुनपनि सक्छ भारतजीलाई ! राजेन्द्र गौतम, शिव ढकाल,श्रवण शर्मालगायतले ‘छलफल’ साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलियाबाट प्राप्त पत्रकारिताको शिक्षा दीक्षा र सिप ‘जनआवाज’मा सुरु गर्नु भएको थियो । माथि पत्रकार भरत जी नै उल्लेख गरेँ तर भूतपूर्व भएको भए अन्यथा नलिनु होला,मेरो सङ्गत र मित्रता पत्रकारकै रूपमा हो । भरतजी अहिले नि’ पत्रकारितामा नै सक्रिय रहनु भएको छ वा छैन जानकारी छैन । भरतजीहरू पत्रकारिताको शिखर चढ्न थाल्नु भएसँगै म यता यो उल्टो गोलार्ध्दतिर ओरालो लागेपछिको डेढ दशक यता कुनै सम्पर्क हुनसकेको छैन ।

रह्यो, डाक्टर भट्टराईको सन्दर्भ- हो पनि डाक्टर भट्टराई सधैँ सफल असफल एक पात्रको रूपमा बयान गर्न मलाई पनि मन लागिरहेको छ । व्यक्तिगत जीवनमा सधैँ सफल भएर पनि सधैँ सार्वजनिक जीवनमा असफल यी विद्व्त्जनले कम्तीमा अङ्गुलीमाल नामको एक असुरले बुध्दका सामु पश्चाप गरेजस्तो पश्चाताप नगरेसम्म यिनको आत्मा यसरी नै कहिले यता र उता भड्किन कसरी छोड्ला र ?!

डाक्टर भट्टराईसँगको सम्झनाको एउटा सानो सन्दर्भ यस्तो पनि छ-
तत्कालीन जनमोर्चाका नाममा काठामाण्डूमा रत्नपार्क वरपर नियमितजस्तो नारा जुलुस यस्तै केही हुन् थालेको थियो । जनयुध्दको घोषणा गर्नु पहिलेसम्म यी विद्व्त्जन पत्रकारहरुका लागी मात्र होइन जो कसै नेपालीका लागि २४ सै घण्टा उपलब्ध हुने सहज पात्र हुनुहुन्थ्यो । डाक्टर भट्टराई रत्नपार्कको पूर्व कुनामा रहेको रातो घरको भुँइमा आएर पत्रिका पसले घिमिरे आमैलाई ‘नमस्कार आमा’ मात्र भन्नुहुन्न थियो । घिमिरे आमैले पत्रिकाको पोकामा गुजुमुजु पारेर लुकाई राखेका आफ्ना पार्टीका चिठी पत्र बोकेर हिमालय बुकमा पस्नु हुन्थ्यो । यही बाटो भएर त्यसरी नै हिमालय बुक छिरेका डाक्टर साबले चिनिया भाषाबाट नेपालीमा अनुवाद गरिएको ‘युध्द्कला’ नामको किताब एक झोला बोकेर बाहिर निस्कनु भएको थियो कुनै एक दिन ।

रातो घर कसको थियो कुन्नि तर त्यसका हर्ताकर्ता हुनुहुन्थ्यो -योगेश भट्टराईज्यूहरू । त्यो घर अगाडीको बाटो बाबुरामहरु हिंडेको पनि मन मन पराउनुहुन्न थियो उहाँहरू । एक दिन डाक्टर भट्टराईलाई झापाबाट निस्कने ‘स्वादीन सम्वाद’पत्रिकाको लागि एउटा अन्तरबार्ता लिनु थियो मलाई । सम्पादक प्रकाश हुनुहुन्थ्यो लिला उदाशीज्यू,लेखनाथ निरौलाज्यू र हरिचरण बानियाँज्यूहरू । फोन सम्वादमा पत्रिकाका लागि अन्तरबार्ता लिन डाक्टर भट्टराईले रत्नपार्कमा बोलाउनु भयो । रत्नपार्कको गणेशस्थानमा तोकिएको समयमा भेटेपछि उहाँले के के छन् त प्रश्नहरू भनेर सोध्नु भयो । फुलिस्केप भनिने साधा कागजका १२-१५ पन्ना र त्यसमा १२-१५ प्रश्न लेखेको थिएँ मैले । उहाँले त्यसै कागजमा गणेशस्थान मन्दिरको आडैको सडक पेटीको बारमा उभिएर नै ती सबै प्रश्नको उतर यस्तै ४०-४५ मिनेटमा लेखिदिनु भयो ।

माथि नै उल्लेख छ – जनमोर्चाका नाममा सभा जुलुस वा कोण सभा र भिते लेखन आदि त्यसबेलाका नियमित कार्यक्रमहरू हुन्थे । सुन्धारातिरबाट पुग नपुग एक सयको जुलुस रत्नपार्क आइपुग्यो त्यहीबेला र रातो घर तर्फ लाग्यो । डाक्टर भट्टराई पनि कालो ह्याण्ड ब्याग देब्रे काखीमा च्यापेर जुलुसको अग्र भागमा मिसिनु भयो । रातो घर आगाडिको भितोमा नारा लेख्ने प्रयास गर्दा रातो घरका हर्ताकर्ताहरूसङ्ग भएको विवादमा योगेश भट्टराईजीहरुले त्रिभुवन विश्व विधालयमा आफूले सिकेको युध्द कला चिनिया ‘युध्द कला’का पाठ पढ्दै गरेका यिनै डाक्टर भट्टराईको ढाडमा १-२ किक बजार्नु भएको हल्ला त्यही दिनको समाचार थियो । यी विद्व्त्जनका ढाडमा सरकारी लाती र लाठी मात्र बजारिएको छैन । आफ्नै पार्टी र अन्य कम्युनिष्ठ पार्टीका लाती र लाठीहरू पनि कम बर्सिएको छैन ।

नेपाली समाजको आमूल रूपान्तरण गर्न यथास्थितिलाई भितैमा नपुर्याएसम्म सम्भव छैन भन्नु हुने डाक्टर भट्टराईप्रति अर्थ मन्त्री हुँदाका दिनसम्म नेपाली समाजले गरेको विश्वास मैले पनि बोकेकै थिएँ । अर्थ मन्त्रीका रूपमा कुनै सार्वजनिक स्कुल शिलान्यास गर्न सेनाको हेलिकप्टर उधारोमा लिएर काजुका केही दाना कोटका गोजीमा राखेर सोलुखुम्बुतिर उढेका यी विद्व्त्जनका पनि चिरिएका कान देखिएको थियो एयरपोर्टमा ।

अर्का नेपाली राजनीतिका कुशल खेलाडी हुनहुन्थ्यो जयप्रकाश आनन्द अर्थात् सुरुका दिनमा मैले एक पत्रकारकारुपमा सुनें र चिनें । उहाँलाई खोज्न र भेट्न धेरै प्रयास पनि गरेँ,बौध्दिक ज्ञानगुनका कुराहरू भएको प्रतियोगितात्मक पत्रिका ‘पूर्व क्षितिज’ प्रकाशित गर्नु हुन्थ्यो उमेश गिरि र उहाँहरूले । बिसं २०४३-४४ देखिपछिका ६-७ वर्षसम्म ‘पूर्व क्षितिज’ पत्रिका सम्पादक/प्रकाशककारुपमा जयप्रकाश आनन्दलाई विराटनगरमा मैले भेट्न सकिन । त्यसपछिका दिनमा राजनीतिक पार्टीका नेताकारुपमा भेट्ने रहर वा आवश्यकता पनि परेन ।

उमेश गिरीसङ्ग प्रजातान्त्रिक नेपाली काङ्ग्रेसका नाममा हाती चुनाव चिन्ह लिएर काठमाण्डुको अनामनगरहरुमा हिँड्दासम्म भेटघाट हुन्थ्यो | राजेश ढुङ्गानालई पनि यही हाती चुनाव चिन्हका सन्दर्भमा सम्झिनु पर्छ | प्रजातन्त्रका पहरेदारकारुपमा परिचित कवि ढुङ्गाना राजनीतिको हाती चढेपछि कता बेपता हुनुभयो आजभोलि मलाई थाहा छैन । कवि राजेश ढुङ्गानाको घर उहाँकै छिमेकी कवि भरत भुर्तेलले देखाईदिनु भएको थियो । निर्भीक पत्रकार र प्रजातान्त्रिक आन्दोलनका सिपाही कविकारुपमा परिचित भरत भुर्तेलको बारेमा नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको’महाभारात’लेखनको क्रममा भएको उतार चढावका कारण आत्माहत्या गरेको समाचार सार्वजनिक भए यता कुनै थप चर्चा सुनिएको छैन ।

तर ज प्रकाश आनन्द ज्यूसँग जम्काभेट ती दिनसम्म भएन जुनदिनसम्म उहाँ राजनीतिमा नेपाली काङ्ग्रेस भित्र कोइराला परिवारको उताराधिकारिको रूपमा उदाउनु भएको थिएन । कोइराला परिवारमा शैलजा आचार्यको आफ्नै इतिहास थियो । बि पी कोइरालाका छोराहरू नेपाली राजनीतिमा देखिएका थिएनन् । डाक्टर शशाङ्क विदेशी महिलासँगको घर गृहस्थी र चिकित्सा पेसमा नै रमाईरह्नु भएको भेटेको थिएँ मैले पनि । नोना भाउजू कोइराला निवासको घर गृहस्थीमा नै व्यस्त देखिनु हुन्थ्यो । डाक्टर शेख कोइरालाको पेशाको व्यस्तता थामी नसक्नु नै हुन्थ्यो । महेश आचार्य त धेरैपछि उदाउनु भएको हो नेपाली काँग्रेसको राजनीतिमा । सुजाता कोइरालाका बारेमा सबैलाई घाम जतिकै छर्लङ्ग नै छ । उहाँको भूमिका र सम्बन्ध कस्तो थियो यकिन नै त छैन कोइराला निवासभित्र तर मलाई यस्तो लाग्थ्यो,जयप्रकाश आनन्द कोइराला निवासका नेपाली काङ्ग्रेसका उतराधिकारी हुनुहुन्छ । तर समयकाल कहाँ कसरी बग्यो मेरो बुझाइमा जयप्रकाश आनन्द कोइराला निवासबाट किनारा लाग्दा नलाग्दै नेपाली राजनीतिका एक गुमनाम पात्रकारुपमा थन्किनु भएको छ अहिले ।

चुडामणि शर्मा र गोपाल खड्काहरू पछिल्ला उदाहण हुनुहुन्छ नेपालका सम्माननीय न्यायमुर्तीज्यूहरूले काखीमा च्याप्नु भएका राष्ट्र सेवकहरूको लाइनमा । तर पनि जय प्रकाश आनन्दसँगै भ्रष्टाचारको चिम्टाले डामिएका खुमबहादुर खड्का भने बि पी कोइरालाको आदर्शले डोर्याएको राजनीति पार्टी नेपाली काङ्ग्रेसको संसदीय दलको सम्मानित सदस्यकारुपमा सानेपा र बालुवाटार ओहोर दोहोर गरिरहनु भएको छ । यता जयप्रकाशज्यू भने समुन्नत तराईको सपना बोकेर कोसी किनारको डिलमा उभिएर विजय गच्छेदारहरुलाई उहाँहरूको राजनीतिक रथारोहणका लागि शुभकामना लेखिरहनु भएको छ आफ्ना फेसबुकको भिताहरुमा। उहाँले लेख्नु भएको रहेछ-इतिहासलाई निमेषमै मेटेर नयाँ इतिहासको अध्याय क्षणभरमै कोर्न सक्ने क्या सामर्थ्य हुँदो रै’छ मानिसहरूमा ! जे होस्, शुभ दिनमा जन्मेकाहरूको सधैँ शुभ होस् !

अर्का एक जना सज्जन मित्र हुनुहुन्छ बालकृष्ण कट्टेल । बालकृष्णजीसङ्गको सङ्गत वा मित्रताको बारेमा चर्चा गर्दा उहाँको दाइ मुकुन्दजीबाट सुरु गर्नुपर्छ । उहाँहरू दुवै दाजुभाइ नेपालको सामाजिक जागरण अभियानमा विज्ञ अभियन्ताहरुकारुपमा परिचित र सक्रिय हुनुहन्छ । सार्वजनिक जीवनमा कवि गोष्ठीहरुमा यी कट्टेल भाइले कविता वाचन गरेको देखेको सुनेको वा पढेको सम्झना छैन । तर फाट्टफुट्ट आफ्नो फेसबुकको भितामा कविता मुक्तक बाँडिरहेका हुन्छन् । यसै मेसोमा यो बालकृष्ण जीको फेसबुक ‘यात्रामा’ भेटिएको एउटा कविताको यो अन्तिम अंश –

यात्रामा
आँट गर्नेले नै
सगरमाथा चढ्न सक्छन्
हिम्मत नहार्नेले नै
पानीमा पनि आगो बाल्न सक्छन् !!

कवि कट्टेल भाइ,तपाईँको पानीमा आगो बाल्ने सङ्कल्प साकार होस् । आगोको समस्या परे आगो खोज्न साथ सहयोग दिनु सक्नुहुन्छ ,कवयत्री सुनिता खनालले पनि । कवि खनालको ‘आगोको ठेगाना’ कविताको अन्तिम अंशका केही लाइन यी हुन् –

हे महानायक !
कि यो देशलाई आगोको देश घोषणा गर्नुस्
कि यो देशलाई आगोको शेष घोषणा गर्नुस् !

आगाेकाे उमेर साेधी हिँड्ने
कलिलाे समयलाई के जवाफ दिऊँ ?
आगाेकाे ठेगाना खाेजी हिँड्ने
बारुदकाे अक्षरलाई के जवाफ दिऊँ ?

यसै पनि आजभोलि तिहारको मौसम । दीपावलीको रमझम । देउसी भैली गीत सङ्गीतको गुञ्जन जताततै । फेसबुकको सेरोफेरोको यो यात्रा बिट मार्दै गर्दा युट्युवमा शोभा त्रिपाठी,रेसम सापकोटा र साथीहरूको’ छोटो जीवन,लामो छ सम्झना’ यो देउसी गीत पनि गुञ्जिरहेको छ ।

प्रतिक्रिया