अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रणमा आएन, १५ जनाको मृत्यु, १८० हराए

बिआरटीनेपाल २०७४ असोज २५ गते ६:१७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ ।

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी १५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यसबाट अरु पनि कैयौँ हराइरहेका छन् ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको यसैका कारण झन बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ ।

उक्त राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ ।
यसमा परी १५ जनाको ज्यान गएको छ भने अरु करिब २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।

हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।

बुधबार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिवीर बनाएर राखिएको छ । सो शिवीरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ ।

अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ ।

सो आगलागीमा परी कम्तीमा पनि दुइ हजार घर जलेका छन् । त्यसमा व्यापारिक भवन पनि रहेका छन् । अन्य भौतिक संरचनाहरु पनि जलेर खरानी भएको बताइएको छ ।

प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।

आइतबार रातिबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।

आगोको गति निकै तीब्र थियो । तीब्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।

अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।

यसैबीच प्राप्त एक पछिल्लो समाचार अनुसार उक्त आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरुले दिएका छन् ।

पछिल्लो समाचारमा उक्त अगलागीमा परी अझै पनि १८० जना मानिस हराएका छन् । उनीहरुको खोजी कार्य पनि जारी रहेको उद्वारकर्मीहरुले जानकारी दिएका छन् ।  (रासस÷सिन्ह्वा)

AFP PHOTO / Robyn Beck (Photo credit should read ROBYN BECK/AFP/Getty Images)
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू