अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए

बिआरटीनेपाल २०७४ असोज २२ गते ११:१० मा प्रकाशित

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ ।

मित्रपार्कस्थित टेक्सस इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते बिहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । ८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दाबी गरिनेछ ।

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ ।

सो कीर्तिमानका लागि लायन्स क्लब अफ काठमाडौँ बिहानीको आयोजना तथा लियो क्लबलगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा उहाँले ८४ घण्टा भाषण गर्ने योजना भए पनि आज दिउँसोसम्म ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न उहाँ सफल हुनुभएको थियो ।

भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिनुभएको थियो । उहाँले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गर्नुभएको हो ।  (रासस) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू