अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

भारतीय वरिष्ठ सिने निर्देशक कुन्दन शाहको मृत्यु

बिआरटीनेपाल २०७४ असोज २१ गते २३:२५ मा प्रकाशित

व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिवार निधन भएको छ । उहाँ ६९ वर्षको हुनुहुन्थ्यो ।

शाहको उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएकोे भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

स्वर्गीय शाहले पूर्णेस्थित भारतीय सिनेमा तथा टेलिभिजन संस्थान (एफ्टिआईआई) मा सिनेमा निर्देशन सम्बन्धी अध्ययन गर्नुभएको थियो र सन् १९८३ मा जाने भी दा यारा नामको सिनेमाबाट निर्देशनको यात्रा तय गर्नुभएको थियो ।

उहाँले भारतीय सिनेमाका लागि प्रदान गरिने राष्ट्रिय पुरस्कार, इन्दिरा गान्धी पुरस्कार, प्राप्त गर्नुभएको थियो । तर सन् २०१५ मा एफ्टिआईआईमा विद्यार्थीले गरेको प्रदर्शनमा ऐक्यबद्धता जनाउदै उक्त पुरस्कार फिर्ता गर्नुभएको थियो ।

शाहले सन् १९८६ मा ‘नुक्कड’ नामक हिन्दी धारावाहिक टेलीश्रृङ्खलामा प्रवेश गर्नुभएको थियो ।

सन् १९८८ मा प्रसिद्ध हाँस्य टेलिश्रृङ्खला ‘वागले कि दुनियाँ’ को निर्देशन गर्नुभएको थियो । उक्त सिनेमा व्यङ्ग्य चित्रकार आर के लक्ष्मणको आम आदमीको चरित्रमा निर्माण गरिएको थियो ।
उहाँ भारतीय सिने क्षेत्रमा १९९३ मा शाहरुख खानद्वारा अभिनित ‘कभि हाँ कभि ना’ सँगै पुन देखिनुभएको थियो ।

उहाँको प्रीति जिन्टा तथा सैफ अलिद्वारा अभिनित सिनेमा ‘क्या कहना’ निकै सफल चलचित्र हो । यसका अलावा उहाँले केही अरू सिनेमाको निर्देशन गरे पनि ती सिनेमाबाट व्यावसायिक सफलता भने मिलेको थिएन । (रासस÷पीटीआई)

प्रतिक्रिया