अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने केसीको प्रयास

बिआरटीनेपाल २०७४ असोज २१ गते १२:२० मा प्रकाशित

भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ । यहाँस्थित टेक्सस इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते बिहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच छ । 

यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राख्नुभएको छ । उहाँले विभिन्न ७५ शीर्षकमा भाषण दिनुभएको बताइएको छ । आज दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसक्नुभएको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिनुभयो । सो कीर्तिमानका लागि लायन्स क्लब अफ काठमाडौँ बिहानीको आयोजना तथा लियो क्लबलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ । 

भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिनुहुन्छ भने एक घण्टामा पाँच मिनट विश्राम पाउनुहुन्छ । उहाँले दिनरात उभिएर भाषण गर्नुहुन्छ भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू