अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

प्रधानमन्त्री देउवा माओवादी मन्त्रीहरु सरकारबाट हटाउने तयारीमा

बिआरटीनेपाल २०७४ असोज १९ गते ५:०४ मा प्रकाशित

सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले एकाएक विपक्षी एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीलाई हटाउने तयारी गरेका छन् । बुधबार दिनभरजसो प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका कांग्रेसका प्रभावशाली नेताहरुले माओवादीलाई सरकारबाट हटाउन सुझाव दिएपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीलाई हटाउने तयारी गरेका हुन् ।

बुधबार कांग्रेस कार्य सम्पादन समितिको बैठकपछि नेता अर्जुननरसिंह केसीले माओवादी मन्त्रीलाई छाड्न सुझाव लिएका सथए । केसीले पत्रकारहरुसँग भनेका थिए, ‘माओवादीका मन्त्रीहरु सरकारमा बसिरहनु नैतिक रुपमा उपयुक्त होइन । मेरो त सुझाव छ उहाँहरुले राजीनामा दिँदा नै राम्रो होला ।’

बुधबार बेलुका नै बसेको कांग्रेससहित ६ दलको प्रधानमन्त्रीमा देउवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएसँगै देउवाले माओवादीका मन्त्रीलाई सरकारबाट बिदाइ गर्ने तयारी भएको स्रोतको भनाइ छ । देउवा सरकारमा माओवादीबाट एक जना उपप्रधानमन्त्री, सात जना मन्त्री र आठ जना राज्यमन्त्री सहभागी छन् ।

कांग्रेस, राजपा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाल फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेलसँगै सरकारलाई निरन्तार दिने प्रतिबद्धता जनाएका छन् । ६ दलको बैठकपछि कांग्रेस नेता निधिले भन्नुभयो, ‘तोकिएको मितिमा चुनाव यही सरकारले गराउँछ । अहिले पनि हामीसँग ३ सय २ बहुमत रहेकाले सरकार सुरक्षित छ ।’
संसदमा कांग्रेसका २०७, राजपाका २४, राप्रपा र राप्रपा प्रजातान्त्रिकका ३७, नेपाल फोरम लोकतान्त्रिकका १७, संघीय फोरमका १५ सहित तीन सय ३ जना सांसद छन् । सरकार कायम राख्न संसदमा हाल कायम रहेको पाँच सय ९२ को बहुमत दुई सय ९७ भए पुग्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू