अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

जुट भन्दा फुटको इतिहास बोकेका नेपालका कम्युनिस्ट पार्टीहरूको यो पटकको मिल्ती कस्तो रहला ?

बिआरटीनेपाल २०७४ असोज १८ गते २१:१५ मा प्रकाशित

जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ। अहिलेलाई निर्वाचनमा तालमेल र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक- राजनीतिक विषयमा मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू जुट्ने-फुट्ने गरेको पाइन्छ। कम्युनिस्ट पार्टीकै नेता-कार्यकर्ता ‘वाम पार्टी एकताको महाअभियान’ टिक्ला-नटिक्ला, यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्थामा देखिन्नन्। यद्यपि, एमाले र माओवादी केन्द्रका नेता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ऐतिहासिक आवश्यकता र आकस्मिकताको ‘द्वन्द्ववाद’बाट आएको परिघटना भएकाले टिकाएर परिणाममुखी निकास दिनुपर्ने बताउन थालेका छन्।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले त एमाले एकता प्रक्रियासँग अभ्यस्त रहेको भन्दै विभाजनभन्दा एकता प्रवाहमा आश्वस्त पार्न समय खर्चिए। ‘म झापाबाट राजनीति थालेको, झलनाथजी इलामबाट, वामदेवजी उता-उता, कता-कताबाट, अर्का साथीले कताबाट, ईश्वर पोखरेलले धनुषाबाट थालेको हो, यसभित्र अनेक समूह मिल्दा-मिल्दा माले, माक्र्सवादी मिलेर एमाले बनेको हो’, अध्यक्ष ओलीले भने, ‘एउटा भूलचुक भएको थियो एक बेला। यो हुँदो रहेनछ भनेर फेरि मिल्यौं। एक हुने हाम्रो वास्तविक चरित्र हो। यसपटक पनि हामीले उल्लेख्य हिसाबले अगाडि बढ्ने संकल्प गरेका छौं। मञ्चमा अगाडि बस्नुभएका नेताहरूको बडी ल्याङ्वेज हेरे पुग्छ।’

नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक-राजनीतिक मतान्तरभन्दा व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरका कारण कम्युनिस्टहरू जुट्ने-फुट्ने गरेका छन्।

एकता र फुटको शृंखला

पार्टी स्थापनाको ६८ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका छन्। २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्षदेखि नै विभाजनको बीउ रोपिएको थियो। एमाले-माओवादीको इतिहासमा भने पाँच दशकको सम्बन्धविच्छेदपछि पुनर्मिलन प्रयास भएको छ। पार्टी एकतामा रहेका यी दुई प्रभावशाली वाम पार्टी ५५ वर्षपछि सगोलमा आउने कसरतमा छन्। यी दुई वाम शक्ति २०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका थिए।

यस्तो छ एमालेको धार

तेस्रो महाधिवेशनमा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूहको विकसित पार्टी नै अहिले एमालेको धार हो। यो समूहले पनि कैयन टुटफुटको शृंखला बेहोरेको छ। यही समूहबाट २०२७ सालमा झापा जिल्ला कमिटीले विद्रोह गरी ‘झापा सशस्त्र विद्रोह’ गरेको थियो। त्यहींबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेका थिए।

२०३२ सालमा कोअर्डिनेसन कमिटी (कोके) बनेको थियो। त्यही समूह २०३५ मा नेकपा (माले) बनेको थियो। ०३५ सालमा मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा (सन्देश) समूहको पनि मालेसँग एकता भएको देखिन्छ।

पुष्पलाल समूहमा २०३० सालमा अर्काे विभाजन आयो। नेकपा (पुष्पलाल), मजदुर किसानसभा र नेपाल मजदुर किसान संगठन गरी तीन समूह बन्यो।
पुष्पलाल समूहमा पनि २०३३ सालमा फेरि पुष्पलाल समूह, मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठन नेपालका नाममा विभाजन आएको देखिन्छ। त्यसमध्ये २०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा, सहाना प्रधानको पुष्पलाल समूहको एकता २०४३ सालमा भएपछि नेकपा (माक्र्सवादी) बन्न पुग्यो।

नेपाल मजदुर किसान संगठनका नाममा रहेको संगठन पनि विभाजन भएको थियो। त्यसमध्ये एउटा समूह नेपाल मजदुर किसान समिति (रोहित) र अर्काे नेपाल मजदुर किसान संगठनका रूपमा विभाजन भयो। २०४७ सालयता नारायणमान बिजुक्छे (रोहित)को समूह नेपाल मजदुर किसान पार्टीका नाममा अझै अलग्गै समूहमा छ।

किसान संगठन र २०३४ मा गठन भएको सर्वहारा कम्युनिस्ट लिगबीच २०४० मा एकता भएपछि सर्वहारावादी श्रमिक संगठन बन्यो। त्यसको बहुमत पक्षले मालेसँग र अर्काे पक्षले रूपलाल विश्वकर्मासहित एकता केन्द्रतिर एकता गरेको इतिहास छ।

त्यसपछि २०४७ सालमा माले र माक्र्सवादीबीच पार्टी एकता भएपछि एमाले बनेको हो। तर, एमालेमा पनि २०५४ सालमा विभाजन आयो। सहाना प्रधान, वामदेव गौतमलगायतले त्यस बेला एमाले विभाजन गरे। २०५८ मा गौतमसहित अधिकांश हिस्साले पुनः एमालेसँगै पार्टी एकता ग¥यो। सीपी मैनाली भने फर्केनन्। उनले मालेलाई नेतृत्व गरिरहे। अहिले मैनालीको पार्टीबाट पाँचजना सांसद छन्।

माओवादी केन्द्रको धार

पुष्पलाल समूहलाई आरोपित गर्दै अलग भएका मोहनविक्रम सिंह, मोहन वैद्य, निर्मल लामाहरूले नेतृत्व गरेको धारकै विकसित रूप हो, माओवादी केन्द्र। पुष्पलाल समूहसँग विभाजित भएपछि यो समूहलाई चौथो महाधिवेशनका रूपमा चिनिन्थ्यो।

यसभित्र पनि २०३० सालयता विभाजनको अनगिन्ती शृंखला जोडिएका छन्। ०३० मा नेकपा (मशाल) र नेकपा (चौम)का रूपमा विभाजन भयो। मोटो मशालमा पनि लगत्तै मोहनविक्रम र मोहन वैद्यले अलग-अलग समूह बनाए। वैद्यले मोटो मशाल र सिंहले पातलो मसालका नाममा पार्टी चलाए। यसमा बढीजसो मोहनविक्रम सिंहबाट नेताहरूले पार्टी विभाजन गर्ने क्रम चलिरह्यो। सिंहबाट फेरि बाबुराम भट्टराई, हरिबोल गजुरेललगायतले विद्रोह गरे। त्यसपछि २०४७ सालमा नेकपा (चौम), नेकपा (मशाल), रूपलाल समूहको सर्वहारा श्रमिक संगठन र विद्रोही मसालबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो।

सशस्त्र युद्धको तयारी गर्ने गरी गठन भएको उक्त पार्टी युद्धमा जाने÷नजाने विषयमा पक्ष-विपक्ष भएपछि २०५१ सालमा विभाजन आयो। पुष्पकमल दाहाललगायतले नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठलगायतले एकता केन्द्र नै रहने गरी अलग पार्टी गठन गरे।
मोहनविक्रम र नारायणकाजीबीच २०५९ सालमा पार्टी एकता भयो र पार्टीको नाम नेकपा एकता केन्द्र मसाल रह्यो। त्यसअघि पुनः मोहनविक्रमसँग दिनानाथ शर्माको नेतृत्वमा अलग्गै विद्रोही मसाल गठन गरेर माओवादीसँग एकता गरे। युद्धमा रहेको माओवादीले पनि २०६० सालमा गोपाल किरातीलगायत सम्मिलित किरात वर्कर्स पार्टीसँग एकता गर्यो‍।

२०५९ मा एकता गरेको मोहनविक्रमको नेकपा (मसाल)मा २०६० मा पुनः विभाजन आयो। उनले नेकपा (मसाल) र नारायणकाजीले एकता केन्द्र मसाल पार्टी नाम राखे।

एकता केन्द्र मसालले पछि माओवादी शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा पार्टी एकता गर्‍यो। मोहनविक्रम नेतृत्वको पार्टी अझै अलग्गै समूहका रूपमा छ। संसद्मा राष्ट्रिय जनमोर्चाको नाममा छ। २०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि माओवादीमा पनि विभाजन र एकताको शृंखला चलिरहेको छ। एकता केन्द्रसँग पार्टी एकता गरेर नाम परिवर्तन गर्ने भएपछि मातृका यादवले पार्टी छाडेर पुरानो पार्टी आफूले चलाए। पुष्पकमल दाहालयलगायतको पार्टी एमाओवादी बन्न पुग्यो।

यसबीच माओवादीले साना समूहमा रहेका केशव नेपालको नेकपा २००६ लाई २०६३ सालमा, संयुक्त लोकतान्त्रिक मोर्चा डा.राममान श्रेष्ठको समूहलाई २०६३ मै, कृष्णदास श्रेष्ठको नेकपा (मालेमा-केन्द्र), नेमकिपाबाट विद्रोही बनेका हर्कबहादुर शाही समूहलाई २०६४ मा पार्टीमा मिलायो।

२०६५ मा विद्रोही मसालबाट आएका हुकुमबहादुर सिंह, नेकपा (संयुक्त)का डा. लोकेन्द्र शर्मा, नेकपा (एकीकृत)का कृष्ण भुजेल, २०६६ मा नेकपा (माले)बाट विद्राही बनेकादेखि २०६७ मा नयाँ जनवादी मोर्चालाई पार्टीमा मिलाउने काम भयो।

मोहनविक्रमतर्फ भने विभाजनको शृंखला नै थियो। २०६३ मा रामसिंह श्रीषले पार्टी विभाजन गरे। उक्त समूहले नेकपा (एकीकृत) बनायो। नवराज सुवेदी समूहले २०६७ मा छुट्टै पार्टी बनाई माओवादीसँग एकता ग¥यो।
२०६९ मा उक्त समूहमा व्यापक विभाजन देखियो। व्यक्तिपिच्छे नेताहरूले अलग्गै पार्टी घोषणा गर्ने र विभाजन भएको घोषणा गर्ने क्रम चल्यो।

लोकनारायण सुवेदीले संयुक्त माक्र्सवादी, ऋषि कट्टेलले नेकपा, जगत बोगटीले नेकपा (माले समाजवादी), हरिदेव ज्ञवालीले माक्र्सवादी कम्युनिस्ट पार्टी, दिनेश खातीले नेकपा (माले) समूह, गण्डकी धौलागिरि माले समूहलगायत पनि देखापरे।

२०६९ सालमा एमाओवादीमा ठूलो विभाजन भयो। मोहन वैद्य, रामबहादुर थापालगायत नेताले पार्टी विभाजन गरी नेकपा-माओवादी गठन गरे। वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए, २०७० मंसिरमा। वैद्यको समूहबाट २०७३ मा रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृकाको नेकपा (माओवादी)लगायत छरिएका माओवादीबीच पुनः २०७३ मा पार्टी एकता भयो। पार्टीको नाम नेकपा (माओवादी केन्द्र) छ।

वैद्य नेतृत्वमा रहेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) मा पनि रामसिंह श्रीष, सीताराम तामाङलगायतले एकता गरेका छन्। वैद्यको माओवादी र चन्दको कम्युनिस्ट पार्टी छुट्टै अस्तित्वमा छन्।

अझै छन् यी धार

मुख्य वाम शक्तिहरू एमाले, माओवादी केन्द्रले पार्टी एकताको सैद्धान्तिक सहमति गरी एउटै कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरे पनि अझै यो अभियानबाहिर आधा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी छन्।

२०१९ सालको तेस्रो महाधिवेशनमा निष्काशनमा परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा (संयुक्त) अस्तित्वमा छ। उसले बुधबार विज्ञप्ति जारी गरी वाम एकताको अभियानमा जाने संकेत गरेको छ। आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने निर्णय गर्दै उसले आफूलाई एमाले-माओवादीकै वाम गठबन्धनमा सहभागी गराउने संकेत गरेको हो। रायमाझी समूहले २०२४ सालमा पुनर्गठन गरेको उक्त समूहमा २०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा विभाजन भएका थिए। रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै २०४७ सालमा नेकपा (प्रजातान्त्रिक) २०४८ हुँदै प्रजातान्त्रिक बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा (संयुक्त) बनेको थियो।

नेकपा (माले) पनि यो समूहभन्दा बाहिरै छ। उसले वाम गठबन्धनको विषयमा कुनै टिप्पणी गरिसकेको छैन। मोहनविक्रमको नेकपा मसाल पनि छ। उसको पार्टी राष्ट्रिय जनमोर्चाका नाममा संसद्मा छ।

२०४७ साल मै गठन भएको नेपाल मजदुर किसान पार्टी पनि अलग्गै पार्टीका रूपमा छ। उसले यो अभियान निर्माणमा भारतको हात रहेको आरोप लगाएको छ। माओवादी धारबाट वैद्य र चन्दको अलग-अलग पार्टी अझै यो अभियानबाहिर छन्। वैद्यले एमाले-माओवादीले थालेको एकता अभियानलाई ‘अवसरवादी मिलन’ भनेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू