अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

समस्यालाई समयमै सम्बोधन गरी प्रा. डा.महेश गजुरेलको जीवन रक्षा गर्न आग्रह

बिआरटीनेपाल २०७४ असोज १८ गते १६:०७ मा प्रकाशित

 

राष्ट्रिय मानव अधिकार आयोगले त्रि.वि.वि.का आंशिक प्राध्यापक डा.महेशकुमार गजुरेलको जीवन रक्षा गर्न आग्रह गरेको छ । आंशिक प्राध्यापकहरूलाई करार सेवामा राख्नु पर्ने माग राखी विगत ८ दिनदेखि अनसनरत डा. महेशकुमार गजुरेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार शिक्षा मन्त्रालयलाई आयोगले सार्थक वार्तावाट समस्यालाई समयमै सम्बोधन गरेर उनको जिवन रक्षा गर्नका लागि पत्रचार सहितको अग्रह गरेको हो ।

आयोगले यस बिषयमा जारी गरेको विज्ञप्ती र पत्रचार पत्रमा उल्लेख भए अनुसार :-आंशिक प्राध्यापकहरूलाई करार सेवामा राख्नु पर्ने माग राखी विगत ८ दिनदेखि अनसनरत डा. महेशकुमार गजुरेलको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । अनुगमन टोलीले डा. गजुरेल र सम्बन्धित वार्ता टोलीका सदस्यहरूसँगको वार्ताको प्रगति लगायत विविध विषयमा समेत जानकारी लिएको छ ।

त्रि.वि.वि. र नेपाल सरकारसँग पटक–पटक भएका सम्झौताअनुरूप त्रि.वि.वि.मा प्राध्यापनरत सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई करार सेवामा नियुक्ति गरियोस् भनी एक बँुदे माग राखी मिति २०७४÷०६÷११ गतेदेखि अनशनरत डा. गजुरेलको स्वास्थ स्थिति जटिल बन्दै गएको पाइएको छ । शिक्षा मन्त्रालयले मिति २०६६÷०५÷३१ मा गरेको सम्झौता कार्यान्वयन गर्न त्रि.वि.वि.लाई पत्र पठाएकोमा हालसम्म पनि सम्झौता कार्यान्वयन नभएको बुझिएको छ । सो सम्बन्धमा नेपाल सरकार र आंशिक प्राध्यापक संघवीच भएको सम्झौता कार्यान्वयन नभएको पाइएको छ । सो सम्बन्धमा आयोगले आजै समस्या समाधान तथा सम्झौताको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

आमरण अनसन जस्तो गम्भीर विषयले समस्यालाई झन् जटिलतातर्फ लैजाने कुरालाई मध्यनजर गर्दै समस्या समाधानको लागि वार्तालाई सार्थक बनाउन तथा डा. गजुरेलको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ । नेपाल आंशिक प्राध्यापक संघसँग भएका विगतका सम्झौताहरू शीघ्र कार्यान्वयन गरी समस्याको उचित समाधान खोज्न समेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू