अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

गौशाला नगर पालिकाको रु ९० लाख गोलमाल

बिआरटीनेपाल २०७४ असोज १७ गते ३:५७ मा प्रकाशित

महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख गोलमाल भएको खुलासा भएको छ ।

नगरपालिकाको बंैक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ । नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो ।

कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइकन खाताबाट रु एकसमेत नराखी खाता निल गरी निकालिएको खुलासा भएको छ । भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पाउनुभएको थियो । खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन रु ९० लाख झिकिएको सनसनीपूर्ण खुलासा भएको हो ।

कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त हुनुभएको थियो । प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा नगरपालिकाको सो रकम गोलमाल भएको हो ।

नगरपालिकाको खाताबाट एकैसाथ रु ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।” गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको उहाँले बताउनुभयो ।

यता गौशाला नगरपालिकाको त्यति ठूलो रकम निकासा भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो ।

नवनिर्वाचित प्रमुख महतोले भन्नुभयो, “जनताको पैसा लुट्ने कर्मचारी र भ्रष्टाचारीलाई कारबाही हुन्छ ।” नगरपालिकाको रकम दुरुपयोग गर्ने कार्यमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने महतोले चेतावनी दिनुभयो ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू