अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

अमेरिकामा पहिलो पटक दसैँको सामूहिक टिका कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ असोज १६ गते १७:३९ मा प्रकाशित

सबै नेपालीको चाड दसैँको बारेमा सन्देश दिन, सबैलाई एक भएर दसैँ मान्न आह्वान गर्ने सन्देश दिनका निम्ति अमेरिकामा पहिलो पटक दसैँको सामूहिक टिका र आशीर्वाद ग्रहण, सहभोज, दसैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सबै जात जाती, भाषा भाषी, हिमाल, पहाड, तराईका मान्यजनहरुलाई मँचमा राखेर उनीहरूबाट उपस्थित सबै सहभागीले टिका, जमरासँगै आशीर्वाद ग्रहण गर्दाको क्षण र सन्देश अत्यन्त महत्त्वपूर्ण थियो । दक्षिणा लिन दिन निषेध गरिएको उक्त कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले गरेका थिए भने अनेसास डिसीका महासचिव पण्डित भूप नारायण घर्ति मगरले सञ्चालन गरेका थिए । 

कार्यक्रममा दसैँको बारेमा बिद्वतहरु चेतन सिटौला, डा. होम बहादुर थापा, भूप नारायण घर्ति मगरले प्रकाश पार्दै दसैँ कुनै जात विशेषको नभएर सबैको भएको र सबै नेपालीले मनाउँदै आएको बताएका छन् । अनेसास डिसी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक अरुणा रुपाखेतिले स्वागत भाषण गर्दै यो कार्यक्रमको अलग महत्त्व भएको र यस्तो कार्यक्रममा सबैलाई स्वागत गर्न पाउँदा आफू हर्सित भएको बताएका छन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जसले दसैँ बहिस्कारको अभियान चलाएका थिए तिनै महिसासुरले पनि दसैँ टिका लगाउन सुरु गरी सकेको प्रसङ्ग कोट्याउँदै भने “धर्म खायो, कर्म खायो, महिसासुरले २२ वर्ष पछि दसैँ टिका लायो” अब सबैको चेत खुलोस । हामी सबै नेपाली हौँ, चाडवाड मिलेर मनाउने हाम्रो संस्कारलाई बँचाइ राखौं भने । 

कार्यक्रममा छन्द कवि सुदिपभद्र खनाल, कवयित्री निरा शर्मा, हाँस्य कवि पुष्कर पन्त, कविहरु भूप नारायण घर्ति मगर, मन थापा, नीलकन्ठ सुबेदी, रामप्रसाद खनाल, अरुण रुपाखेती लगायतका कवि कवयित्रीहरुले दसैँ सम्बन्धी कविता, गजलहरु प्रस्तुत गर्नु गरेका थिए । 

कार्यक्रममा उपस्थित विशेष अतिथि डा. शुकदेब शाह देखी गीतकार अम्बिका गुरुङ, कलाकार राजेश नाथ सबैको भनाइ थियो – आहा यस्तो पो दसैँ ! यस्तो पो एकताको सन्देश ! सबैले यो कार्यक्रमबाट केही पाठ सिकुन । कार्यक्रममा उपस्थित सबै जात जातजाती भाषा भाषाभासी सबले दसैँ सहभोज गरेर एकताको सन्देश पनि बाँडेका थिए । यस्तो कार्यक्रम यस अघि कहिल्यै कहीँ भएको थिएन, पहिलो पटक भएको कार्यक्रम भएकोले कार्यक्रमको नाम राखिएको थियो “अमेरिकामा पहिलो पटक दसैँको सामूहिक टिका र आशीर्वाद ग्रहण, सहभोज, दसैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल वाचन कार्यक्रम” ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू