अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

दशैँमा विभिन्न अपराधमा संलग्न १२८ जना पक्राउ

बिआरटीनेपाल २०७४ असोज १६ गते ११:१० मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये १५ जनालाई मुद्दा दर्ता गरी अनुसन्धान गरिएको र अन्य ११३ जनालाई सामान्य कारबाही गरी छाडिएको छ ।

मुद्दा दर्ता हुनेमा केही सार्वजनिक अपराधअन्तर्गत १० जना, लागुऔषधमा तीनजना, जबर्जस्ती करणीमा एकजना र सवारी दुर्घटनामा एकजना रहेको शर्माले जानकारी दिनुभयो । पक्राउ परी सामान्य कारबाही गरिएकामा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १६, झैझगडा गर्ने १५, घरायसी झगडा गर्ने पाँच, सवारी दुर्घटनाका १०, सामान्य सोधपुछ २७ र राति शंकास्पद हिँडडुल गर्ने ४० जना रहेका छन् ।

यस्तै दशैँको समयमा घर जान टिकट नपाउने र विभिन्न समस्या परेका यात्रु ६३९ जनालाई यात्रु सहायता कक्षबाट सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । सेवा लिनेमा पोखरा बसपार्क नारायणगढबाट २४५ जना र केन्द्रीय बस ट्रमिनल हाकिमचोकबाट ३९४ जना रहेका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू