अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बिआरटीनेपाल २०७४ असोज १३ गते ४:१६ मा प्रकाशित

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टि गर्नुभएको हो ।

उहाँले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बस्नुभएको छ ।

उहाँलाई यसअघि नै थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उहाँ अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।

उहाँ अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वाेच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उहाँ गत महिना देश छोडेर भाग्नुभएको समाचार आएको थियो ।

गत महिना देश छोडेकी उहाँ हाल दुबईमा रहेको जानकारी गराइएको हो । यो समाचार बिहीबार पहिलो पटक थाई प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधवार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

अदालतको उक्त फैसला लामो समयको सुनुवाइपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।

चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।

यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।

उहाँ सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।

तर उहाँको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरुपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू