अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

मिस शेर्पा २०१७ आयोजना हुँदै

बिआरटीनेपाल २०७४ असोज ८ गते १७:५१ मा प्रकाशित

काठमाडौँ । शेर्पा युवाहरूलाई क्षमता प्रस्तुत गर्ने माध्यमको रूपमा मिस शेर्पा आयोजना हुने भएको छ । डिपास इन्टरनेश्नलले प्रतियोगिता आयोजना गर्ने राजधानीमा आयोजित एक कार्यक्रमबिच जानकारी दिइयो । सन् २०१७ मा हुने प्रतियोगितामा १६ देखि २५ वर्षसम्मका युवा महिलाहरूले सहभागिता जनाउन पाउनेछन् । यसअघि लगातार तीन वर्षसम्म आयोजना भएको प्रतियोगिता पाँचबर्षसम्म स्थगित रहेपनि निरन्तरता दिने कुरालाई युवाहरुमा उत्साह छाएको मोडल जाङमु इन शेर्पाले बताइन् ।

नेपाल शेर्पा सङ्घका अध्यक्ष आङ दोर्जी शेर्पाको विशेष उपस्थितिमा राजधानीको बौद्धमा आयोजक संस्थाले प्रारम्भिक छलफल आयोजना गरी प्रतियोगिताको औपचारिका घोषणा गरेका हुन । छलफलमा सहभागी नेपाल शेर्पा महिला सङ्घका अध्यक्ष ङिमी शेर्पाले युवाहरूको क्षमता अभिबृद्धिका लागि प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने र यसबाट युवाहरूलाई प्रकाशमा आउन सघाउने बताइन् ।

विभिन्न पाँच वटा जिल्लामा जिल्लागत अडिसन समेत हुने गरी आयोजना गर्न लागिएको प्रतियोगिताको ग्रान्ड फिनाले आगामी पौष ८ गते राजधानीको ह्यात रिजेन्सीमा हुने सो अवसरमा डिपासका प्रबन्ध निर्देशक पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् । प्रतियोगिताले निरन्तरता पाउनेमा आफूहरू विश्वास्त रहेको र यसबाट व्यक्तित्व विकासमा ठुलो टेवा पुग्ने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका वरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले विश्वास व्यक्त गरिन् । त्यस्तै, शेर्पा सेवा केन्द्रका महासचिव आङ गेल्जे शेर्पाले भाषा, धर्म, संस्कृतिका प्रबन्धनमा प्रतियोगिताले सार्थकता पाउने बताए । छलफलमा सहभागी शेर्पा युवा सङ्घका अध्यक्ष जाङबु शेर्पाले आर्थिक रूपमा प्रतियोगितालाई सफल बनाउन चुनौतिपूर्ण रहेपनि प्रतियोगिता सफल भए युवाहरूले अवसर प्राप्त गर्नेमा दुइमत नरहने बताए । त्यस्तै, शेर्पा सञ्चार समूहका सोनाम याङजी शेर्पाले प्रतियोगिताले प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त हुने भन्दै खुसी व्यक्त गरिन् । छलफल कार्यक्रममा अन्य सामाजिक संस्थाका अगुवाहरुको समेत सहभागी थिए ।

कार्तिक २२ गतेबाट जिल्लागत अडिसन सुरु हुने र शेर्पा युवा महिलाहरूले आफ्नो क्षमता देखाउन यो ‘विशिष्ठ मञ्च’ लाई प्रयोग गर्न सकिने आयोजक संस्थाका बजार निर्देशक साङ डोमा शेर्पाले जानकारी दिइन् । कार्यक्रम आयोजना गर्न समुदायबाट सकारात्मक सहयोग र प्रतिक्रियाको आफूहरूले अपेक्षा रहेको आयोजकहरुले जनाएका छन् । प्रतियोगिताबारे छिट्टै पत्रकार सम्मेलन आयोजना गरी विस्तृत जानकारी दिने तय भएको पत्रकार पेम्बाङावा शेर्पाले जानकारी दिए । कार्यक्रमलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने नेपाल शेर्पा विद्यार्थी सङ्घका वरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाले छलफलपछि जानकारी दिए ।

प्रवेशीका उतिर्ण, अविवाहित, नेपाली नागरिकता वाहकले प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया