अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

डिआइजी सिलवालबाट राजीनामाको घोषणा – प्रेस विज्ञप्ति सहित

बिआरटीनेपाल २०७४ भदौ २७ गते १६:४८ मा प्रकाशित

प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन आज खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले आजैका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गर्नुभएको हो ।

आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उहाँले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’ रासस

 

नवराज सिलवाल- प्रेस विज्ञप्ति

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरु, नेपाल प्रहरीका अधिकृत तथा जवान साथीहरू !

न्याय प्रप्तिका लागि गरिएको ७ महिना लामो कानुनी लडाइको आज अन्त भएको छ । मेरो लडाइ स्थिर र निष्पक्ष प्रहरी प्रशासनको अवधारणाको लागि थियो । असल शासन व्यवस्थाको लागि थियो । यो लडाई प्रहरी सङ्गठन उपर हुने राजनैतिक हस्तक्षेप र स्वैच्छाचारीतालाई दुरुत्साहन गर्नको लागि थियो । अन्याय माथि न्यायको विजयका लागि थियो ।

यो व्यावसायिक हक हितका लागि लडिएको न्यायको लडाई थियो । यसलाई विसुध्द व्यावसायिक र न्यायिक हकको क्षेत्रमा मात्र सीमित गरिनुपर्नेमा यसलाई विष्यान्तर गर्ने कोशिसहरु भए र म मुक दर्शकको रुममा पिडा बोध गरिरहें । एउटा सिपाहीको लागि सत्तामा वस्नेले दिएको कानुन वमोजिमको आदेशको पालना गर्नुको विकल्प हुँदैन । त्यो उसको धर्म पनि हो । त्यो आदेश दिने जो सुकै होस उसको कानुनको अक्तियारी मात्र महत्वको हुन्छ । उ कुन दलको हो भन्ने थप खोजविन गर्नु आवश्यक हुँदैन । नेपालको राजनीतिक परिदृस्यमा लगभग सबैले आलोपालो गरेकै हुन । प्र्रहरीले सत्तामा रहेकाको कानुन वमोजिमको आदेश पालना गर्दछ । प्रहरीले कुन राजनीतिक दल भनी नगरे जस्तै आज्ञापलान गर्ने प्रहरी सँग कुन दलसंगको निकटत छ वा छैन भनी हेर्न वा त्यस्तो आधारमा व्यावसायिक उन्नति र अवसर गर्न दिने वा नदिने भन्ने कुराको आधार तयार गर्नु पनि मनासिव हुँदैन । एउटा सिपाहीको लागि राजनीतिको सर्वोकृष्ट अभिव्यक्ति भनेको कानुन नै हो । राजनीतिक प्रक्रियाबाट बनेको कानुन बमोजिम काम हुन्छ भने राजनीतिक निर्णयको पालना भनेको त्यही नै हो । सो देखी बाहेक व्यक्ति पिक्षेको अकांक्षा स्वार्थ वा दम्वको सिकार प्रहरीलाई बनाउन सकिँदैन । प्रहरी माथि राजनीति गर्ने अथवा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहिरहे सम्म कानुनी राज्य स्थापित हुन सक्दैन । कानुनलाई नै वायाँ हातको खेल वनाउनेहरुवाट प्रजातन्त्र सुरक्षित हुन सक्दैन । प्रहरीको स्वाभिमान गुमाउने षडयन्त्रहरु सफल भैरह्यो भने समाज सुरक्षित र मर्यादित रहन सकदैन । प्रहरी सङ्गठन वा प्रहरी अनुसासन माथि वलात कुनै दुस्प्रयास हुन्छ भने प्रजातन्त्रको अस्मिता प्रथम दृष्टिमा लुटिएको हुन्छ । राजनीतिक दल र निर्वाचन जस्ता प्रक्रियाहरू मात्र प्रजातन्त्र टिकाउने आधारहरु हुदैनन, कानुन र कानुनका पहरेदार प्रहरी सङ्गठन जस्ता राज्यका अंगहरु पनि प्रजातन्त्रका आधारभूत सर्तहरू हुन्छन् । त्यसैले प्रहरी सङ्गठनलाई जसरी चलाए पनि हुन्छ भन्ने सोच जुन अहिले हुर्किदै गएको छ, त्यो नै हाम्रो प्रजातन्त्रको लागि कलंक होला भन्ने गम्भीर चिन्ता लागेको छ । प्रहरी सङ्गठनको विरुध्द विभिन्न किसिमबाट हस्तक्षेप हुने र त्यसैको एउटा रूप मेरो सम्बन्धमा घटित भएको छ । जतिसुकै ठूलामान्छे वा शक्तिशाली वा लोकप्रिय किन नहुन प्रहरीको सम्बन्धमा कानुन सङ्गत व्यावसायिक र सयमित रहनु पर्ने हुन्छ । यस्ता मूल्यमान्यताहरु स्थापना गर्ने कोसिस गर्दा गर्दे स्वयम म र मेरो प्रयास यसको सिकार हुन पुगेको महसुस गरेको छु । म यो क्षणमा पनि फेरि यस्तो दुस्साहस कहिल्यै नहोस मेरो नियति फेरि कहिल्यै कसैले भोग्न नपरोस र प्रहरी सङ्गठनको स्वाभिमान पहाड जस्तो सुदृढ रहोस् भन्ने कामना व्यक्त गर्दछु ।

मैले मेरो जीवनको लामो उर्जावान समय मुलुकको एक सच्चा सिपाहीको हैसियतमा यो सम्मानजनक सेवामा बिताएं । यस दौरान मैले अन्यायमा परेकाहरुलाई न्याय दिलाउन र पीडामा परेकाहरुलाई मलहम लगाउने जिम्मेवारी निर्वाह गरेकोे छुं । प्रणालीको विकासमा समय खर्चेको छु । कानुनको शासन लागू गर्न मेहनत गरेको छु । अन्याय र अत्याचारको विरुद्धमा राज्यले गर्नु पर्ने जिम्मेवारीका उदाहरणहरू प्रस्तुत गर्ने प्रयास गरेकोे छु । मैले हरेक कठिन समयहरूमा स्वदेश र विदेशमा बसेर गरेका कामहरूले मानिसहरूको मन सिंचित गरेको छ र त्यो आत्मसन्तोष मलाई सधैँ प्राप्त छ । म नेपाल प्रहरीका अनुशासित, कर्मठ सदस्यहरू लगायत समस्त देशभक्त न्याय प्रेमीहरुलाई आग्रह गर्दछु कि नेपाल प्रहरी केवल राजनीतिक दाउपेचको विषय नबनोस् । प्रहरी सङ्गठन राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सकेमा मात्र त्यसले कानुनको पालना गराउनका साथै सामाजिक न्याय स्थापित गर्न सक्दछ । प्रहरी सगठनको साख पनि यसैसँग जोडिएको छ । हस्तक्षेप रहित ढङ्गले कार्य गर्न पाए मात्र कानुनी राज्य स्थापित हुन्छ र दीर्घकालीन क्षेतिवाट जोगाउन सकिन्छ । म नेपाल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानहरुलाई किन्चित पनि विचलित नभै प्रहरीको व्यावसायिकताको सम्वर्धनमा लाग्न अनुरोध गर्दछु । प्रहरी हुनुका आधारभूत मान्यताहरूलाई जोगाएर राख्न सकिएन भने हाम्रो समाज सुरक्षित रहने छैन । झट्ट हेर्दा इतिहासको कुनै कालखण्डमा सत्यको पराजय भएको जस्तो देखियता पनि इतिहासले त्यसको मुल्याडकन गर्ने नै हुँदा म सबै साथीहरूलाई निराश नभई मुलुक प्रतिको जिम्मेवारीमा लागिरहन सल्लाह दिन चाहन्छु र यस घटनाको समुचित समीक्षा गर्ने जिम्मा इतिहासलाई नैं छोडी दिनु उचित ठान्छु ।

भोलि म जुनसुकै भूमिकामा रहेपनि नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगी भूमिकामा रहने छु । यस उद्दयेस्यमा म प्रहरी नेतृत्वलाई समेत सहयोग गरिरहनेछु । इमान्दार, अनुशासित र कर्तब्यनिष्ठ भएर कार्य गर्दा पनि अन्यायमा परिने जोखिम हुँदो रहेछ भनेर नेपाल प्रहरीका सकल दर्जा हतोत्साहित नबनून । एक जना कर्तब्यपरायण सिपाही माथि बदनियत राख्दा शासक वर्गहरुको पनि निद हराम हुँदो रहेछ र उनीहरू जनताबाट दण्डित हुनु पर्दो रहेछ । प्रजातान्त्रिक मूल्य मान्यता र कानुनको शासनको उपहास गरी शासन व्यवस्था सञ्चालन गर्न लालायित अप्रजातान्त्रिक चरित्रहरु दण्डित हुनु भनेको पनि म जस्तो पीडित पुरस्कृत हुनु सरह नैं हो भन्ने अर्थमा वुझ्दा अझ सहज हुन्छ । यो लामो न्यायिक लडाइको दौरानमा हुन गएको समयको वरवादि, साधन श्रोतको क्षेति, न्यायालय माथिको राजनैतिक आक्रमणबाट न्याय प्रेमीहरुमा पर्न गएको आघात दुःखद छन् । स्थापित मूल्य मान्यता माथि धावा बोल्ने र कानुनको शासनमा विश्वास गर्न नसक्ने अप्रजातान्त्रिक चरित्रका शासकहरुको सिकार कोही पनि देशभक्त नेपालीले हुनु नपरोस् । मेरो ईश्वर सँग प्रार्थना छ, यस्तो नियति अरू कुनै पनि नेपालीले भोग्नु नपरोस् । नेपालका भावी पुस्ताले त झन् यस्तो नियतिको कल्पना सम्म पनि गर्नु नपरोस् । न्याय प्राप्तिका खातिर यो कठिन र लामो लडाइको दौरानमा मलाई साथ दिनु हुने न्याय प्रेमी देश भित्र र बाहिरका सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरू, पत्रकार मित्रहरू, स्वयम सेवकको रूपमा वहसपैरवि गरी सहयोग गर्नुु हुुने कानुुन व्यवसायिहरु, राष्ट्रिय जीवनका विविध तप्काका महिला र सज्जनहरु र प्रहरी सङ्गठन भित्रका सम्पूर्ण अधिकृत तथा जवान साथीहरू प्रति तपाईँहरूको सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मुलुकका लागि इमान्दारीता पूर्वक काम गर्नुको गौरव जीवनको सबैभन्दा मूल्यवान पदवि भएको मेरो अनुभवले मलाई सिकाएको छ । जसरी पनि पद हाँसिल गर्ने र आफ्नो स्वभिमानलाई गिराउन तयार हुने परिपाठिको अन्त गर्ने तर्फको मेरो लडाइले आउँदा दिनहरुका लागि एउटा बाटो कोरेको मैले महसुस गरेकोछु । बाँकी आन्तरिक सढयन्त्रका अपत्यारीला कडीहरुको विवरण म इतिहाँसको जिम्मामा छोड्न चाहन्छु । मैले जीवन भर पहिला आफै कानुनको परिपालना गर्न र अरूलाई कानुन परिपालना गराउनमा लगाएको छु । मेरो आत्मसम्मानलाई प्रहार गर्ने ढङ्गले कसैले मेरो कर्तव्य परायणतामा प्रहार गर्दा आफ्नो आत्मालाई सोधोस् । मलाई हराउन वा निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति गर्न सकेका त छैनन् नै ।

अन्तमा, आज म अन्यायमा पर्दा पनि सम्यमित छु । फगत म प्रहरी सङ्गठनको महानिरिक्षक हुन सकिन तापनि सम्पूर्ण देशवासी र समस्त प्रहरीहरुले देखाएको सदभाव र मायाले मलाई त्यो भन्दा उच्च कोटीमा राखेको महसुस गरेको छु। म निवृक्त भए पनि मेरो प्रहरी मन कहिल्यै निवृक्त हुने छैन । जनताका सबै सुखदुखका प्रहरहरुमा म सधैँ सँगै रहने छु । नेपाली जनताको निसान्त जुन सुभेक्षा र सदभाव यो सम्पूर्ण प्रक्रियामा जसरी निरन्तर प्राप्त गरिरहें त्यसको लागि नेपाली जनतालाई नमन गर्दै म आफ्नो कृतज्ञता व्यक्त गर्दछु । आउँदा दिनमा मुलुकको एउटा योग्य नागरिकका रूपमा सामाजिक उत्तरदायित्व वहन गर्दै निरन्तर क्रियाशील रहने छु । अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हुदों रहेछ भन्ने अनुभूतिको आधारमा पनि म अन्यायमा परेका तमाम नागरिकहरूको एउटा सशक्त आवाज बन्ने कोसिस गर्र्नेछु । आजैका मितिदेखि नेपाल प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दछु । धन्यवाद ! जय नेपाल ।

नव राज सिलवाल
२०७४ भाद्र २७ गते

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू