अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

बिआरटीनेपाल २०७४ भदौ २६ गते १७:१९ मा प्रकाशित

काठमाडौँ, २६ भदौ । लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु –नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स’ ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ । 

अमेरिकाको जर्जिया राज्यस्थित म्यारियट्टा सहरमा आइतबार राति सम्पन्न म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ सर्वोत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको हो । विश्वका १४ वटा देशका ५५ वटा फिल्म प्रतिस्पर्धामा थिए । त्यसमध्ये भाग्यले बाँचेकाहरु डकुमेन्ट्री विधामा सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएको म्यारियट्टा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका कार्यकारी निर्देशक डा. रिचर्ड ताभेरनारोले जानकारी दिए । भाग्यले बाँचेकाहरु टिमका तर्फबाट जर्जियास्थित मानार्थ नेपाली पर्यटन दूत राजा घलेले अवार्ड थापेका थिए । नेपालबाट भाग्यले बाँचेकाहरुमात्र सो महोत्सवमा प्रतिस्पर्धाका लागि छनौट भएको थियो । 

नेपालको महाभूकम्पमा परी चमत्कारिक रूपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ‘अमेरिकामा पनि अवार्ड जित्न सफल भएकोमा धेरै खुसी लागेको छ । हामीले गरेको काम संसारभर सम्मानित हुनु गर्वको कुरा हो,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘अन्तर्राष्ट्रिय जगतमा यसले नेपालको इज्जत र गरिमा बढाउने काम गरेको छ ।’ 

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, सङ्गीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रूपमा काम गरेका छन् । 

प्रतिक्रिया