अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

पर्याप्त संभावना हुँदाहुँदै पनि पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन नसकिएको व्यवसायीको गुनासो

बिआरटीनेपाल २०७४ भदौ २६ गते ११:३९ मा प्रकाशित

पर्यटन विकास र प्रवद्र्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिएपनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको गुनासो पर्यटन क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरूले गरेका छन् । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री जितेन्द्रनारायण देवको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले तीन वर्ष अघिको भुकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदाहरू आजसम्म पनि टेकोकै भरमा रहनुले भुकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको दुःखद ब्यक्त गरेका हुन् ।

सोमबार महासंघमा पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफलको आयोजना गरेको महासंघले प्रेश बिज्ञप्ती जारी गर्दै व्यवसायिका गुनासा र समस्याको समाधानबारे छलफलमा भएका कुरालाई प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

जारी बिज्ञप्तीमा उल्लेख भए अनुसार -सडक लगायतका पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण नयाँ पर्यटकीय गन्तव्यहरूको विकास हुन नसक्नु, नेपाल आउन चाहने पर्यटकको लागि आवश्यक अन्तराष्ट्रिय विमानस्थलको अभाव तथा हवाई संजालको कमी हुनु, भएका पर्यटकीय क्षेत्रहरू पनि उचित रेखदेखको अभावमा जीर्ण बन्दै जानु लगायतका कारणबाट पर्याप्त सम्भावना हुँदाहुँदै पनि पर्यटन क्षेत्र अगाडी बढ्न नसकेको धारणा व्यवसायीहरूले राखेका थिए ।

पर्यटन क्षेत्रको विकास मार्फत मुलुकको समृद्धि चाहने हो भने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने, गौतम वुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, टीआईएलाई चौविसै घण्टा संचालन गर्न मिल्ने गरी स्तरोन्नती गर्नुपर्ने, अन्य विमानस्थलहरूको क्षमता विस्तार गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्ने, पर्यटकीय महत्वका पुरातात्विक सम्पदाहरूको पुनरनिर्माणलाई तीव्रताका साथ सम्पन्न गर्नुपर्ने, नेपाल भारत सीमा क्षेत्रमा पर्यटकहरू माथि गरिने व्यवहारमा परिवर्तन गरिनु पर्ने, भारतीय ५ सय र १ हजार दरका नोटको समस्या समाधान गरी भारतीय २ हजार दरका नोट चलनचल्तिमा ल्याउन पहल हुनुपर्ने, साना ठूला सवै स्तरका होटलहरूलाई राज्यले गर्ने व्यवहार समान हुनुपर्ने, प्रमुख पर्यटकीय क्षेत्रहरूमा सडक, खानेपानी, शौचालयको उचित प्रवन्ध गर्नुपर्ने सुझाव व्यवसायीहरूले दिएका थिए ।

त्यसैगरी नेपालको पर्यटन वारे अन्तर्राष्ट्रिय बजारमा नियमित प्रचार प्रसार गरिनु पर्ने, विभिन्न देशमा कार्यरत नेपाली कुटनीतिक नियोग तथा गैर आवासीय नेपालीलाई मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी रुपमा परिचालन गरिनुपर्ने, नेपालमा माइस पर्यटनको निकै धेरै सम्भाव्यता रहेकाले यसको प्रचार प्रसारमा सरकारले विशेष रणनीति अख्तियार गर्नुपर्ने, नेपाल आउने पर्यटकलाई वहुप्रवेशाज्ञा लगाउने व्यवस्था गरिनु पर्ने लगायतका सुझावहरू उनीहरूले राखेका थिए ।

कार्यक्रमलाई संवोधन गर्नुहुँदै पर्यटन मन्त्री देवले नीतिगत सुधार सहित महत्वपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडी बढाई सकेको जानकारी गराउनु हुँदै यस क्षेत्रको विकासको लागि नेतृत्व लिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । निजी क्षेत्रका गुनासा र सुझाव सुनिसकेपछि मन्त्री देवले भन्नु भयो –राम्रो मान्छेहरूको टीम बनाएर तपाईहरूले देख्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । आवश्यक पूर्वाधार विकासका लागि आफूले काम थाली सकेको बताउनु हुँदै मन्त्री देवले भन्नु भयो –तपाईहरू आ–आफ्नो तहबाट पर्यटन क्षेत्रको विकासमा लाग्नु होस मेरो पुरा सहयोग रहने छ । पर्यटन क्षेत्रको समुचित विकासका लागि अन्य मन्त्रालयहरूस“ग समेत समन्वय गरी कार्य गर्ने प्रतिवद्धता जनाउनु हुँदै मन्त्री देवले पर्यटन क्षेत्रको विकासका लागि तत्काल के के गर्न आवश्यक छ संस्थागत रुपमा सुझाव दिन महासंघस“ग आग्रह पनि गर्नुभयो । साथै उहा“ले आफूले आगामी साठी दिनमा गर्ने प्रमुख कार्ययोजनाहरु सार्वजनिक समेत गरिसकेको जानकारी गराउनु भयो ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै महासंंघका अध्यक्ष भवानी राणाले मुलुक विस्तारै अगाडी बढ्ने आशा पलाई रहेको अवस्थामा मुलुकलाई समृद्धिको मार्गमा लैजान महत्वपूर्ण आधारको रूपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकासका लागि निकै धेरै चुनौतीहरू रहेको बताउनु भयो । अत्यन्त कमजोर पूर्वाधारनै पर्यटन विकासको सवैभन्दा ठूलो चुनौती रहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष राणा अन्तराष्ट्रिय विमानस्थल, सडक संजाल विस्तार सहित नयां नयां पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिनु भयो । मुलुकवासीले सधै सम्झने काम गर्न पर्यटन मन्त्रीलाई आग्रह गर्नुहुँदै अध्यक्ष राणाले नवनियुक्त पर्यटनमन्त्रीको कार्यकालमा पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एक दुई वटा महत्वपूर्ण काम मात्र सम्पन्न गर्न सकेपनि नेपालको आर्थिक विकास तीव्र रुपमा अगाडी बढ्ने धारणा राख्नु भयो । धेरै कुरा भन्दा पनि दोस्रो अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमान स्थलको निर्माण कार्यलाई तत्काल अगाडी बढाउन र गौतम वुद्ध अन्तर्राष्ट्रिय विमान स्थललाई छिटो सम्पन्न गर्न मन्त्री देवलाई आग्रह गर्नुहु“दै वरिष्ठ उपाध्यक्ष गोल्छाले पर्यटन क्षेत्रलाई निर्वाध अगाडी बढ्ने वातावरण बनाउन सकेमा मुलुकभित्रै पर्याप्त रोजगारी सृजना भई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नु भयो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, टान नाटा, रेवान र होटल एशोसिएसन नेपालका पदाधिकारीहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघको पर्यटन समितिका सहसभापति रामशरण थपलियाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू