अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

जीवन रक्षाको याचना गरिरहेका पप किंग ओमविक्रमको आवाज सुने नसुने गरियो किन ?

बिआरटीनेपाल २०७४ भदौ २५ गते २२:०७ मा प्रकाशित

प्रकाश श्रेष्ठ, बाल्टिमोर, जीवन अनिश्चित छ, सोचे र कल्पना गरे जस्तो जीवनको गोरेटो सहजै अगाडी बढ्न सक्छ भन्ने कुनै ठकुवा कसैले गर्न सकिँदैन । यसको मतलब जीवनलाई सहज बनाउने आधारनै छैनन् भन्ने हैन । यसबारे बहस गर्ने समय अहिले छैन । यस आलेखमा उठाउन खोजिएको प्रसङ्ग नितान्त सहयोग र साथ दिनु पर्ने आवश्यक परिस्थितिलाई औल्याउन खोजिएको छ ।

यो स्तम्भकारले केही सीमित सञ्चार माध्यमबाट प्राप्त गरेको जानकारी अनुसार नेपालमा आधुनिक पप सङ्गीतलाई औपचारिक रूपमा भित्राउने श्रेय पाएका ” पप गायक ओमविक्रम विष्ट विगत केही महिना देखि स्वास्थ्यमा गम्भीर समस्या देखापरे पछि अमेरिकामा उपचारार्थ रहेकोमा हाल उनको दुवै मृगौलाले काम गर्न छोडेकोले अमेरिकाको न्युयोर्कको एक अस्पतालमा नियमित हप्ताको ३ पटक डाईलाईसिस गरिरहेका छन् र डाक्टरका अनुसार मृगौला प्रत्यारोपण मात्र उपचारको स्थायी उपाय हो भनिरहेका छन् । यद्दपी अस्पतालका अनुसार डोनरबाट किड्नी प्राप्त गर्न कम्तीमा ५ वर्ष पर्खनु पर्ने हुन्छ किनकि यस्ता किड्नीका विरामीहरु अमेरिकामा अत्याधिक छन् र सबैले पालो कुर्नै पर्ने हुन्छ आवश्यक मृगौला प्रत्यारोपणको लागी ।

हाल उनले हेल्थ ईन्सुरेन्स मार्फत नि:शुल्क मृगौला डाईलाईसिस गर्ने सुविधा पाए पनि अस्पताल आवात जावत, महँगो औषधी, खानबस्न लगायत अन्य दैनिक खर्च भने आफै जुटाउनु पर्ने देखिन्छ । यस्तो अवस्थामा उनले सहयोगी व्यक्ति एवं सामाजिक संघसंस्थाको साथ पाएमा अर्थात् आर्थिक सहयोग प्राप्त गर्न सकेमा तुरुन्तै भारतमा गएर मृगौला प्रत्यारोपण गर्ने सोच बनाएका छन् जसका लागी केही मृगौला दान गर्ने इच्छुक व्यक्तिहरू पनि प्राप्त गरिसकेका छन् तापनि आतेजाते देखि अस्पतालमा हुने खर्च सबै मिलाएर करिब २५ हजार डलर( २५ लाख रुपियाँ ) हुने अनुमान गरिएको छ जुन आर्थिक रकमको जो गर्नु आवश्यक छ । अहिले सम्म खासै कतैबाट आर्थिक सहयोग जुट्न सकेको देखिँदैन । यद्दपी क्यालिफोर्नियबाट एक जना उनका शुभचिन्तकले उनकै सहमतिमा ” Go Fund ” एकाउण्ट अनलाइन सहयोग मार्फत जुटाउनको लागी केही हप्ता पहिले खोलेका छन् र यसमा केही रकम जुट्दै गएको छ । यो Go Fund एकाउण्टबाट पनि खासै अहिले सम्म सोचे जस्तो सहयोग जुट्न सकेको छैन र यसलाई प्रचारप्रसार खासै गरिएको पनि देखिँदैन ।

अचम्मको कुरा त के छ भने अमेरिकामा प्रशस्त मात्रामा कलाकारहरू छन्, उनीहरूको अमेरिकाभरिका कलाकारलाई समेटिएर कलाकारको हक, हित र सहयोगका लागी आफ्नै सामाजिक सङ्घ/संस्था पनि स्थापना गरिएको छ साथै हरेक राज्यमा च्याप्टर सङ्गठन पनि खोल्ने क्रम जारी छ । अझै स्थापित कलाकारहरू( गायकगायिका, नायकनायिका, सङ्गीतकार, फिल्म निर्देशक, क्यामेराम्यान, रङ्गकर्मी, हांस्यकलाकार, विभिन्न अभिनय क्षेत्रका व्यक्तिहरू आदी) छन् जसमध्ये कतिपयका आफ्नै व्यापारव्यवसाय छन्, प्रतिष्ठित जागिरे पनि छन् त्यस्तै स्थापित अन्य सामाजिक संघसंस्थाका ज़िम्मेवार पोस्टमा पनि छन् तापनि यी पप किंग/सम्राट ओमविक्रमको स्वास्थ्य स्थितिको बारे बेखवर भए झैँ कान नसुने झैँ गरिरहेका छन् । लाग्छ यिनीहरूको व्यवहार देख्दा ” कलाकार अति कोमल ह्रदयका हुन्छन् भन्ने कुरा गलत भएर ठिक विपरीत निकै कठोर ह्रदय र सहकर्मी प्रति निकै अनुदार हुन्छन् ” भन्ने जस्तो आभास भएको छ । यस्तो हुनु दु:खद पक्ष हो, यो स्तम्भकारको यस्तो अनुमान गलत होस् भन्ने कामना छ । ” ढिलो उपचार हुनु र सहयोग हुनु नभए सरह ” हुने अवस्था पनि आउन सक्ने देखिन्छ तसर्थ समयमै कलाकारहरूको वृत र अन्य अमेरिकामा सर्वसाधरणको हितका लागी स्थापना गरिएका सामाजिक संघसंस्थाले समयमै आर्थिक सहयोगको लागी आवश्यक कदम अगाडी बढाओस् र पप गायक ओमविक्रमको जीवनरक्षा गरिदियोस् भनी यो स्तम्भकार विनम्र अनुरोध गर्दछ ।

विशेषगरि कलाकारिता क्षेत्रमा आबद्ध व्यक्ति वा सामाजिक संघसंस्थाबाट यथाशीघ्र आर्थिक सहयोग जुटाउन विशेष कार्यक्रम अगाडी ल्याउनु आवश्यक छ । यस्तो हुनसकेमा सर्वसाधरण र अन्य सामाजिक संघसंस्थाबाट अवस्यक साथ र सहयोग मिल्नेछ । प्रदेशीभुमिमा एउटालाई परेको समस्या, आपतविपतमा सबैको साथ र सहयोग हुनुनै मानव धर्म हो । अन्तमा सबैको साथ र सहयोगबाट अविलम्ब उपयुक्त उपचार पाएर फेरि नेपाली सांगेतिक आकाशमा आधुनिक पप गीतहरू सुन्न पाईयोस्, ओमविक्रम दाइको शीघ्र स्वास्थ्य लाभको कामना छ ।

प्रतिक्रिया