अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

लहान नगरपालिकाका कांग्रेस उम्मेद्वारहरुको घोषणापत्र सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ २४ गते ८:३५ मा प्रकाशित

 

नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समिति अन्तरगतको लहान नगर समितिले लहान नगरपालिकाको घोषणापत्र सार्वजनिक गरेको छ । नगरापालिकालाई विकसित बनाएर नगरवासीलाई सुख सुविधा दिन अग्रसर नेपाली कांग्रेसले घोषणापत्रमा गुरुयोजना बनाई नगरमा व्यवस्थित बसोबासको व्यवस्थागर्ने, नगरका २४ वटै वडामा पक्की सडक, ढल र नाली निर्माण गर्ने, स्वच्छ खानेपानी आपूर्ति गर्ने, व्यवस्थित बसपार्क निर्माण गर्ने, २४ वटै वडालाई छुने गरी परिक्रमा मार्ग निर्माण गर्ने, नगरलाई धार्मिक र आन्तरिक पर्यटनको केन्द्र बनाउन ढोडनाको राजदेवी पञ्चावती, तरेवनाको काभ्रेपानी कपिलेश्वर महादेवथान, राजा सलहेसको गाथा जोडिएको धार्मिक स्थलहरु भदैयाको वासागढीस्थित पकडियागढ, पडरियास्थित फूलवारी,ब्राम्हण मोर्छारी,मानिक दह,खप्टे डाँडा र पतार पोखरीमा पर्यटकीय पूर्वाधार विकास गरी सुन्दर बनाउने, पार्क र मनोरञ्जन स्थल निर्माण गर्ने, ग्रामीण र नगर वनको अवधारणासहित हरियाली विकसित गर्ने, किसानहरुलाई मलखाद र सिंचाई सुविधा सहजरुपमा उपलब्ध गराउने जस्ता विषय समेटिएका छन्

सिरहा नगर कांग्रेसले नगरमा मेयर सहितका पदहरुमा बहुमत आएपछि सांसद पद्मनारायण चौधरीले सांसद विकास कोष मार्फत थालनी गर्नुभएको बहुबर्षीय आयोजनाको लहान तरेगना काभ्रे महादेवस्थानको टÇयाक बाटोलाई कालोपत्र गर्दे उदयपुरको नेपालटारसंग जोड्ने कार्यक्रम पनि ल्याएको छ ।

त्यसै गरि सामाजिक सेवातर्फ सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्ने, माध्यमिक विद्यालय नभएका वडामा विद्यालयको स्तरोन्नति गर्ने, प्रत्येक वडामा सामुदायिक भवन र सूचना केन्द्रको स्थापना गर्ने, जेष्ठ नागरिक,बालपोषण,एकलमहिला जस्ता सामाजिक सुरक्षाभत्ता वडा कार्यालयबाट घरघरमा पुर्याउने, विपन्न र दलित समुदायका बालबालिकालाई विद्यालय पहुँचका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, बृद्धाश्रमको व्यवस्था गर्ने, लहानको हटियामा रहेको क्यान्सर केयर सेन्टरलाई क्यान्सर अस्पतालको रुपमा विकास गर्ने, नगरलाई लामखुट्टेमुक्त बनाउने,हिंसापीडित महिलालाई बस्नको लागि सुरक्षित घर बनाउने र नगरबासीको ५० हजारको जीवन बीमा गर्ने कार्यक्रमहरु अगाडि सारिएका छन् । कांग्रेसले लहानलाई स्वास्थ्य सेवा, शिक्षा र खेलकूदको केन्द्र
बनाउने कार्यक्रम सारेको छ । यस्तै लागूऔषध दुब्र्यसनीहरुको पुनस्थापना केन्द्र बनाउने विषयलाई पनि नेपाली कांग्रेस लहानले अगाडि सारेको छ ।

आर्थिक पक्षमा हाटबजार व्यवस्थित गर्ने, प्रत्येक वस्तीमा महिला समूह गठन गरी आयमूलक र सीपमूलक तालिमको व्यवस्था गरी स्वरोजगार सिर्जना गरी आयआर्जन बढाउने, लहानलाई औद्योगिक नगरीको रुपमा विकसित गर्न उद्योगपति तथा लगानीकर्तालाई प्रोत्साहित गर्ने, जनशक्ति आपूर्तिका लागि श्रम केन्द्रको स्थापना गर्ने , मजदूरहरुको लागि परिचय पत्रको व्यवस्था गर्ने , नगरपालिकामा हाल लाग्दै आएका एकीकृत कर र व्यवसाय करमा पुनर्विचार गरिने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ । खुट्टी नहरको सुव्यवस्था गर्ने तथा खुट्टी र सर्रे खोलामा तटवन्ध निर्माण गर्ने कुरालाई पनि नेपाली कांग्रेस लहानले प्राथमिकतामा राखेको छ ।

नगरप्रमुख उपप्रमुख सहित नगरमा बहुमत सदस्यको बिजय हुने विश्वास साथ चुनावमा होमिएको लहान कांग्रेसले वडावडाका अध्यक्ष सहित सदस्यका उम्मेदवारहरुले व्यक्त गर्नुभएका प्रतिबद्धतालाई पनि नगरको भावि कार्यक्रममा राखेर पूरा गरिने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू