अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

२१ किलो चरेस सहित पक्राउ परेका दुईजना सार्वजनिक

बिआरटीनेपाल २०७४ भदौ २४ गते ७:४६ मा प्रकाशित

नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारत तर्फ निकासी गर्न लागिएको ठुलो परिमाणको लागु औषध चरेस नियन्त्रणमा लिएको छ । संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलन गरी  बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबारसाँझ बाँकेको डुडुवा गाउँपालिका २ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा २ का ५४ बर्षिय फेरन अहिर र ७० बर्षिय मुरी अहिरलाई पक्राउ गरेको डिएसपी नारायण अधिकारीले जानकारी दिए ।

लागु औषध कारोबारमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्छ, डिएसपी अधिकारीले भने,– पक्राउ परेका व्यक्तिमाथी थप अनुसन्धान भईरहेको छ ।

लागु औषध चरेसको मुल्य अन्दाजी तीन लाख ६० हजार रुपिया रहेको प्रहरीले जनाएको छ । प्रहरीले मध्यपश्चिमका पहाडी जिल्लामा उत्पादन हुने गरेको लागु औषध चरेस तस्करहरुले भरियाको प्रयोग गर्दै नेपालगन्ज हुँदै सीमापारी भारतसाँ पु¥याउने गरेको अनुसन्धानबाट खुल्दै आएको छ ।

यसअघि अञ्चल प्रहरी कार्यालय भेरीले दुईबर्षअघि सार्वजनिक गरेको एक तथ्यांक अनुसार भारतीय तस्करहरुले लागुऔषधको खेतीका लागि समेत नेपालीहरुलाई प्रयोग गरिरहेको पाइएको छ ।प्रहरी तथ्यांक अनुसारनेपालबाट लागु औषध चरेस, अफिम लगायत भारततर्फ निकासी हुने गरेको छ ।

भारतबाट ब्राउनसुगर लगायतका लागु औषध नेपाल भित्रिने गरेको छ । तस्करहरुले मुख्य नाका छोडेर खुला सीमाको फाईदा उठाउदै लागु औषध ओसारपसार गर्दै आएको पछिल्लो चरेस बरामद भएको घटनाले पुष्टि गरेको छ । चरेस बरामद भएको स्थान भारतीय सीमा नजिकको क्षेत्र हो ।

नेपाल प्रहरीले खुला सीमानाका कारण लागु औषधको कारोबारलाई मुख्य चुनौतीकारुपमा लिदै सोही अनुसारको सुरक्षा सतर्कता अपनाइएको जनाउदै आएको छ ।

लागु औषध चरेस बरामद भएका घटनामा मुख्य अभियुक्त पक्राउ नपर्ने र ओसारपसारमा संलग्नहरु मात्रै पक्राउ पर्ने गरेको आरोप पहरीमाथी लाग्दै आएको छ ।

नेपालमा मात्रै होइन, सीमावर्ती भारतीय शहरमा समेत चरेस बोक्ने नेपाली भारियाहरु नै पक्राउ परी सजाय भोग्दै आईरहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू