अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

ठगी गर्ने व्यवसायीलाई कानुन अनुसार कारबाही गरिने

बिआरटीनेपाल २०७४ भदौ २३ गते १२:५५ मा प्रकाशित

काठमाडौँ, २३ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।

सिलबन्दी गरिएका पसल खुलाउन माग गरी आफूलाई आज भेट गर्न आएको नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री मण्डलले सो विषय कानूनीरुपमा हल हुने बताउँदै भन्नुभयो,“ विद्यमान कानुनले जे दिएको छ त्यसैअनुसार हुन्छ, गलत गरेको छ भने दण्डित हुन्छ, हैन भने केही हुन्न ।”

उहाँले पहुँच छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य गर्न व्यवसायीलाई आग्रह गर्दै उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा जाँदा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेकाले कारबाहीको भागीदार हुनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा आएको टोलीले अनुगमनबाट व्यापारीको छवि नै बिग्रेकाले सिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको थियो ।

त्यसको जवाफमा मन्त्री मण्डलले कारबाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गर्नुभयो । मन्त्री मण्डलले भन्नुभयो “मर्का परेको विषयमा छलफल गर्नुस् तर व्यक्तिले राज्य ठग्नु ठिक भएन ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू