अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

भुटानका व्यवसायीहरु नेपाल भ्रमणमा

बिआरटीनेपाल २०७४ भदौ २० गते २१:१७ मा प्रकाशित

ललितपुर उद्योग वाणिज्य सङ्घको निमन्त्रणमा भुटानका २३ जिल्लाका ४३ जना व्यापारीहरु नेपालमा व्यावसायिक भ्रमणमा आएका छन् । नेपाल र भुटानबीच वाणिज्य सम्झौता नहुँदा दुई देशबीचको व्यापार प्रवर्द्धनमा समस्या भएको भुटानका व्यापारीहरुले बताएका छन् । भुटान उद्योग वाणिज्य सङ्घका महासचिव फुब छिरिङले भुटान नेपालसँग वाणिज्य सम्झौता गर्न सदैव तयार रहेको बताए । ‘व्यापारका लागि भुटान नेपालको उत्कृष्ट गन्तव्य भएतापनि दुई देशबीच व्यापार सम्झौता नहुदा सोचे जति व्यापारमा प्रवर्द्धन गर्न सकेको छैन,’ उनले भने, ‘भुटानी सरकार वाणिज्य सम्झौताका लागि सधैँ चाहिरहेको छ।’ उनले नेपाल सरकारले पनि पहल गर्नुपर्ने बताए। ‘नेपालमा उत्पादन हुने हस्तकलाका सामाग्री भुटानीजहरुले धेरै मन पराउने गर्छन्, उनले भने, ‘तर भुटानमा नेपालका सामान भारत भएर आउने गर्दा समानका मूल्य अत्याधिक वृद्धि हुने गरेको छ ।’ उनले हस्तकला मात्र नभई नेपालले कृषिमा समेत लगानी गर्न सकिने बताए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सविन श्रेष्ठले दुई देशबीचको व्यापार सम्झौताका लागि सङ्घले पटक पटक सम्बन्धित निकायमा घच्घच्याउने गरेको बताए । ‘तरपनि सम्बन्धित निकायले चासो दिएको छैन,’ उनले भने, ‘व्यापार सम्झौता नहुदा भुटान निर्यात गर्ने सामानहरू सीमामा निकै समस्या हुने गरेको छ ।’

भुटान नेपाली हस्तकला सामग्री निर्यातका लागि एक उत्तम गन्तव्य हो । भुटानसँग नेपालको भाषा, धर्म, संस्कृतिमा समानता छ । यसको कारणले पनि भुटानमा नेपाली हस्तकला, मूर्तिकला, ताम्रकला, प्रस्थरकलाको माग उच्च छ । तर दुई देशबीच व्यापार सम्झौता नहुँदा करको दरमा, निर्यात प्रवर्द्धन, बजार पहुच, व्यापार प्रक्रियामा सहजीकरण र व्यापार प्रवर्द्धनमा अप्ठ्यारो हुने गरेको ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्रकारले बताए । ‘यसले गर्दा नेपालले व्यापारमा अपेक्षित लक्ष्य हासिल गर्न नसकेको छैन,’ उनले भने, ‘चाँडै सरकार परिवर्तन हुने परिपाटीले गर्दापनि सम्झौताको काम अगाडि बढ्न नसकेको हो,’ |

भुटानिज टोलीले ललितपुरको लामाटारमा अर्ग्यानिक खेती, लुभुको टेक्सटाइल, पाटन औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घ तथा भुटान उद्योग वाणिज्य सङ्घ बिच सन २००७ देखि नै सुमधुर सम्बन्ध रहेको छ | भुटानले सन २००९ देखि आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय मेलामा ललितपुर उवा सङ्घले नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ | भुटान उवा सङ्घले यस वर्ष १४ सेप्टेम्बर देखि १८ सम्म हुने मेलामा पनि ललितपुर उवा सङ्घको नेतृत्वमा सय भन्दा बढी व्यापारिक प्रतिष्ठानहरुले सहभागिता जनाउदै छन् |

भुटानमा गत वर्ष नेपाल र भुटानवीच झन्डै ५२ करोडको व्यापार भएको थियो । नेपालबाट १२ करोडका सामान भुटान निकासी भएका थिए भने भुटानबाट ४० करोडको सामान नेपालमा आयात भएको थियो । भुटानबाट जिप्सम, कोइला, आयुर्वेदिक औषधी लगायतका वस्तु निकासी हुन्छ भने नेपालबाट ट्रान्सफर्मर, बिजुलीको पोल, हस्तकला, धातुकला, प्रस्तरकला, मूर्तिकलाका सामाग्री, गर गहना, तयारी पोसाक लगायतका वस्तु निकासी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू