अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

साहित्यकार श्वेता मैनालीको पहिलो कविता सङ्ग्रह प्रेम बस्तीको लोकार्पण

बिआरटीनेपाल २०७४ भदौ १९ गते १४:३४ मा प्रकाशित

नेपालका चर्चित गायक शिव परियारको स्वरमा उनिएको गीत “नभेटी नभेटी” कि रचयिता तथा सिड्नीकि साहित्यकार श्वेता मैनालीको पहिलो कविता सङ्ग्रह प्रेम बस्तीको लोकार्पण समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एन एस डब्ल्यु अस्ट्रेलियाको आयोजनामा यही सेप्टेम्बर २ तारिख शनिवारका दिन, क्याम्प्सीमा रहेको एडिज किचेनमा आयोजना भएको सो समारोहमा कवि श्वेता मैनाली, कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियाका लागि नेपाली महावाणिज्य दूत दीपक खड्का, नेपाली समुदायका अगुवा डा. नारायण प्रधान, कवि मैनालीका श्रीमान् रामु भण्डारी, कवि मैनालीका ससुरा बुवा कुलानन्द भण्डारी, अनेसास एन एस डब्ल्यु अस्ट्रेलियाकी अध्यक्ष सानु घिमिरे तथा साहित्यकार सुरेन्द्र दवाडीले संयुक्त रूपमा गरेका थिए । 

नेपाल र अस्ट्रेलियाको राष्ट्रिय गान पश्चात् शुभारम्भ भएको सो समारोहमा कवि मैनालीका ससुरा कुलानन्द भण्डारीले आफ्नी बुहारीको सिर्जना र क्षमतामाथि गर्व गर्दै “मातृत्व कमजोरी होइन शक्ति हो” भन्ने प्रमाणित भएको भन्दै शुभकामाना सहित स्वागत मन्तव्य राखेका थिए ।

प्रेमिल भावनाका ३३ वटा कविता रहेको सो सङ्ग्रह बिमोचन पश्चात् कवि सुरेन्द्र दवाडीले पुस्तक समीक्षा प्रस्तुत गरेका थिए । कवि श्वेता मैनालीले आफ्नो छोटो प्रेमिल मन्तव्य सहित “म फर्किनु पर्छ अरे” “सफेद तीज” र “आज फेरी रिसायौ फकाउनै आएन” शीर्षकका तीन कविताहरू वाचन गरेर दर्शक तथा श्रोताहरुलाई मन्त्र मुग्ध पारेकी थिइन् ।

नेपाली समुदायको तर्फबाट कवि श्वेता मैनालीको लेखन र पुस्तक प्रेमबस्तीलाइ शुभकामना दिँदै महाबाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियाको नेपाली साहित्यमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने विश्वास रहेको बताउनु भयो ।

कार्यक्रमको समापन गर्दै अनेसास, एन एस डब्ल्यु की अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष्य सानु घिमिरेले विवाह पश्चात् र छोरा छोरी जन्मिसकेपछि नारी सर्जकहरुले लेखन छोडेको उदाहरण दिँदै अस्ट्रेलियाली नेपाली साहित्यमा श्वेता “रोल मोडेल” को रूपमा उदाएको बताइन् ।

कार्यक्रमको दोस्रो भागमा पुस्तक हस्ताक्षर कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा एन आर एन, एन एस डब्ल्यु अस्ट्रेलियाका संयोजक नन्द गुरुङ, नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष प्रतिज्ञा अधिकारी, एन आर एन आइ सिसिकि सदस्य उषा वारिया पोख्रेल, अनेसास केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा, अनेसास एन एस डब्ल्युका निवर्तमान अध्यक्ष महेन्द्र पौडेल लगायत मिडियाकर्मीहरु हिमालयन रेडियोका निर्देशक टिका कार्की, लाहुरी टेलिभिजनका राम रुवाली, अनलाइन खबरका मन ऋषि धिताल लगायत नेपाली समुदायका अगुवा तथा साहित्यकारहरु साहित्यप्रेमीहरुको जमघट रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू