अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

दश हजार युवालाई माक्र्सवाद अध्ययन गराइने

बिआरटीनेपाल २०७४ भदौ १७ गते १७:४० मा प्रकाशित
कार्ल माक्र्स द्विशतवार्षिकी को अवसरमा धुलिखेलमा सञ्चालित पाँच दिने ‘कार्ल माक्र्स राष्ट्रिय स्कुल’ को समापन कार्यक्रममा सहभागी नेताहरू । तस्बिर: दीपेन्द्र अधिकारी, रासस

काठमाडौँ, १७ भदौ । कार्लमाक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले मुलुकमा १० हजार युवालाई माक्र्सवादको अध्ययन गराउने भएको छ ।

नेकपा (एमाले)का उपमहासचिव एवं समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा सञ्चालित पाँचदिने ‘कार्लमाक्र्स राष्ट्रिय स्कुल’ को समापन कार्यक्रममा उक्त जानकारी गराउनुभएको हो । स्कुलमा नेकपा (एमाले), नेकपा (संयुक्त), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेपाल र स्वतन्त्र गरी ३५० बढी युवाको सहभागिता थियो । गहन छलफलका लागि उपस्थित सहभागीलाई पाँच समूह बनाई विमर्श गरिएको थियो ।

स्कुलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, माक्र्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एण्ड रोड इनिशिएटिभ र नेपाल, चीन र भारतको त्रिदेशीय सहकार्यलगायतका विषयमा राजनीतिज्ञ तथा विज्ञबाट प्रशिक्षण र विमर्श गरिएको थियोे ।

माक्र्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिस्ट आन्दोलनका करिब सात दशकका अनुभव, शिक्षा र आगामी बाटोबारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्नु उक्त स्कुलको उद्देश्य रहेको आयोजक समितिका डा विजय पौडेलले बताउनुभयो ।

स्कुलमा नेपाली वाम आन्दोलनका शिक्षाबारे वरिष्ठ नेता मोहनविक्रम सिंह, वामदेव गौतमले भाषण दिनुभएको थियो । यसै गरी, नेपाली काँग्रेसका नेता प्रदीप गिरी, माओवादी केन्द्रका नेता राम कार्की, बुद्धिजीवी चैतन्य मिश्रलगायतले प्रशिक्षण दिनुभएको थियो । रासस

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू