अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

अमेरिकामा आपत्कालीन सहयोग व्यवस्थापन सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ १६ गते २०:०८ मा प्रकाशित

अमेरिका, क्यालिफोर्निया, ३१ अगस्ट । बाढी र डुवानले अहिले थुप्रै नेपालीहरू घरवार विहिन भएका छन् । विपतमा परेकाहरुलाई सहयोगका लागि विदेशमा बसेका नेपालीहरूले राहत सङ्कलन गरिरहेका छन् । अमेरिकामा पनि सहयोग रकम उठाउन होडवाजि नै चलेको छ ।

पिडामा मलम लगाउन सहयोग संकल सह्रानिय काम हो । तर, पीडितको लागि भन्दा आफ्नो नामको लागि बढी महत्त्व दिँदै राहत सङ्कलन गरेको देखिन्छ । एउटै प्रयोजनका लागि सङ्कलन गरिने राहतको लागि दाताहरुले ५–७ जनालाई छुट्टा–छुट्टै चन्दा दिनै पर्ने बाध्यता छ । संस्थातग रूपमा भन्दा व्यक्तिगत रूपमा सहयोग संकलनकर्ताहरु सक्रिय भएपछि यो समस्याकै रूपमा देखिन लागेको हो ।

दाताहरुको नाम र प्राप्त सहयोगको सूचि, अर्थात् उठाइएको सहयोग रकमको विवरण, नेपाल पठाइएको र वितरण गरिएको फेहरिस्त धेरैजसोले सार्वजनिक गरेका छैनन् । यसले समस्याको रूप धारण गर्नु पुर्वनै सतर्कता अपनाउनु जरुरी भैसकेको छ । यसै सन्दर्भमा ३० अगष्ट बुधवार नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाले आपत्कालीन सहयोग व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा यूसी वर्केलीका प्राध्यापक डाक्टर आमोद पोखरेलले बाढी पहिरोको चपेटामा परेकालाई सहयोग जुटाउन भइरहेका काम र यसमा जोडिएका विविध पक्षलाई तथ्यपरक भएर केलाउनु भयो ।

पोखरेलका अनुसार गोफण्डवाट मात्रै अहिले नेपालका बाढी र डुवानमा परेकाहरुको राहतका लागि सहयोगको अपिल गरिएका सय भन्दा बढी एकाउन्ट छन् । यस मध्ये १५ वटा संस्था मात्र यसमा सहभागी छन् । बाकी व्यक्तिगत ढङ्गले सङ्कलन खुलइएका एकाउन्ट छन् । यसले जवाफदेहिता र लक्षित समूहसम्म रकम पुग्ने कुरामा थप प्रश्न खडा गरिदिन सक्छ ।

भूकम्पको समयमा यस्तै अकाउन्टवाट ४ मिलियन डलर अर्थात् ४० करोड रुपैयाँ“ सङ्कलन भएको थियो । यस बाहेक अमेरिकाका धेरै राज्यहरूमा ठुलो मात्रामा चन्दा वाक्सा र घरदैलो सहयोग अभियान नै चलाएर रकम जम्मा गरिएको थियो । त्यस वेला भने अधिकांश सङ्घ संस्थाहरुकै पहलमा रकम सङ्कलन भएको थियो । यद्यपि त्यति ठुलो रकम कसरी नेपाल पठाइयो । र कहाँ खर्च गरियो भन्ने धेरै सङ्घ संस्थाले सार्वजनिक गरेका छैनन । 

सङ्घ संस्था सम्बन्धी लेखा परीक्षण विशेषज्ञ श्याम श्रेष्ठले नेजाको अन्तरकृयामा बोल्दै संकलित सहयोग र वितरित रकमको यथार्थ विवरण राख्न नसके आइआरएसको कारबाहीमा पर्न सकिने बताउनु भयो ।

जीएनपीएनका अध्यक्ष सुरेश ओझाले दुई जना सिनेटरले आपत्कालीन अवस्थामा उठाइने सहयोग र नेपाल पठाउने तरिकाहरुको विषयमा सङ्घ संस्थाका प्रतिनिधिहरुसँग छलफल समेत गरिसकेको खुलासा गर्नु भयो । कन्फरेन्स कलमा बोल्दै ओझाले प्रकृयागत जटिलतालाई सहजिकरण गर्न कंग्रेसम्यानहरुले विधेयक निर्माण गर्न चाहेको समेत उल्लेख गर्नु भयो । यसबाट पारदर्शि भएर काम गर्न सहज हु्ने अनुमान गरिएको छ ।

कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, लायन्स क्लब डिष्ट्रक्ट फोर सी थ्रीका गर्भनर राजेन थापा, एनएसीका संयोजक उक्तम कार्की, एनएएनसीका अध्यक्ष रविन्द्र राई, निर्मल फुयाल, सुरेन्द्र मल्ल, कुमार दोङ्ग, नारायण पोख्रेल, नारायण खनाल, सर्बज्ञ वाग्ले, पवन पौडेल, बन्दु पोख्रेल, दीपक तिवारी लगायतले सहयोग जुटाउने र पारदर्शी भएर काम गर्ने अभियान सँगै सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

नेजाका पश्चिम क्षेत्रीय उपाध्यक्ष ध्रुब कुँवरले संयोजन गर्नु भएको उक्त कार्यक्रममा नेजाका महासचिव तोया दाहाल सभापति रहनु भएको थियो भने नेजा कार्यसमिति सदस्य सन्दिप चौधरी (एस बाबु सन्दिप) ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको ओ एस नेपाल, डी सी नेपाल, बिआरटि नेपाल लगायत अन्य अनलाइन मिडियाहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

MORE PICTURES – CLICK HERE

प्रतिक्रिया