अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

‘कोइराला र भिक्षुपछिका नयाँ कथा’

बिआरटीनेपाल २०७४ भदौ १६ गते १९:४७ मा प्रकाशित

काठमाडौँ, १६ भदौ । कथाकार महेश पौड्यालका कथामा मानवीय संवेदना, मानवीय सम्बन्ध र मनोविज्ञान प्रशस्त रहेको समीक्षकहरुले बताउनुभएको छ ।

ऐश्वर्य प्रकाशनद्वारा प्रकाशित उहाँको नवीनतम कृति ‘त्यसपछि फुलेन गोदावरी’को विमोचनपछि समीक्षा गर्दै उपप्राध्यापक, समीक्षक, अनुवादक, कवि, आख्यानकार, समाजसेवीलगायत व्यक्तित्व बनाउनुभएका पौड्याललाई कथामै लाग्न समालोचकहरुले सुझाव पनि दिनुभयो ।

कार्यक्रममा प्रा अभि सुवेदीले बिपी कोइराला, भवानी भिक्षु जस्ता कथाकारको सामथ्र्य हराइरहेको अवस्थामा पौड्यालका कथामा परिपक्वता र वर्णनात्मक क्षमता प्रशस्त रहेको बताउनुभयो । “केही कथामा भने आत्महत्याका प्रसङ्ग बढी छन्, अतिशयोक्तिपूर्ण पनि छन् र हिंसा बढी छ”, उहाँले भन्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग प्रमुख मातृका पोखरेलले उहाँका कथा समाजवादी यथार्थवादी नभए पनि तल्लो वर्ग लक्षित छन् भन्दै नयाँ कथा लेख्ने काम भएकामा सन्तोष व्यक्त गर्नुभयो । समीक्षक कुमारी लामाले कथामा मृत्यु र विस्थापनका कुरा बढी आएको, पात्रहरु भाग्यवादी र रुढिवादी भएकामा असन्तोष व्यक्त गर्दै समसामयिक कथामा उनका कथा पृथक् भएको बताउनुभयो ।

प्रकाशनका तर्फबाट गणेशप्रसाद जोशी, प्रा डा अमरराज जोशी, शिक्षासेवी सुवास न्यौपाने र महेश क्षितिजले पौड्यालको व्यक्तित्वले आफूहरुलाई सधैँ आकर्षण गरिरहेको र कथाले पनि प्रशस्त पाठक पाउने बताउनुभयो ।

कथाकार पौड्यालले यथार्थ घटनालाई जस्ताको तस्तै पस्कने आफ्नो शैली सुधारेर आगामी दिनमा त्यसमा केही कल्पना पनि मिसाउने वाचा गर्नुभयो । विमोचित कृतिमा २० कथा छन् । उहाँका यसअघि बालकथा, किशोर उपन्यास र समालोचनाका कृति प्रकाशन भइसकेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू