अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 21:23

बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार गरी निकुञ्जमा छाडियो

बिआरटीनेपाल २०७४ भदौ १६ गते ३:३० मा प्रकाशित

रत्ननगर (चितवन), १६ भदौ । चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पु¥याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ ।

दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट बिहीबार दिउँसो गैँडाको उद्धार गरेर पठाएको थियो ।

भारतमा गैँडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिक सहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो । दुई दिनको प्रयासमा करिब १५ वर्षको गर्भिणी गैँडाको उद्धार भएको हो ।

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैँडाको उद्धार गरिसकेको छ । अहिलेसम्म बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ । छ वटाको उद्धार गरी फर्किएको टोली पुनः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुनः भारत गएको थियो ।

अझै एउटा गैँडा रहेकाले प्राविधिक सहितको टोली गैँडाको खोजीमा भारतमै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उद्धारमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरु संलग्न छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू