अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

कलाकार रीता मानन्धरकोे ‘कल्चरल एक्सप्रेसन’ आर्ट काउन्सीलमा

बिआरटीनेपाल २०७४ भदौ १२ गते १:४६ मा प्रकाशित

जाति, भाषा, धर्म, भूगोल र संस्कृतिको विविधतापूर्ण नेपालमा नेवार कला र संस्कृतिको विशिष्ट स्थान छ । खासगरी राजधानी काठमाडौँमा मनाइने नेवारी चाड, पर्व, संस्कृति र संस्कारसँग गाँसिएर चित्र कोर्दै आउनुभएकी कलाकार रीता मानन्धरको चौथो एकल चित्रकला प्रदर्शनी ‘कल्चरल एक्सप्रेसन’ नेपाल आर्ट काउन्सीलमा भइरहेको छ ।

भदौ ९ गतेदेखि सञ्चालित प्रदर्शनीमा रिताले उपत्यकाको सांस्कृतिक झल्को दिने एक्रेलिक रंग माध्यमका २१ वटा कृति राख्नुभएको छ । उहाँले खासगरी राजधानीका जात्रा, पर्व, मेलासँग गाँसिएका सांस्कृतिक पक्षलाई कृतिमा उतार्नुभएको छ ।

प्रदर्शनीमा राखिएका कृतिबारे कलाकार रीता भन्नुहुन्छ–“उपत्यकामा जन्मे, हुर्के । यहाँका सांस्कृतिक वैभव र जात्रा, पर्वसँग सानैदेखि परिचित हुने अवसर पाएँ । जुन मेरा कलामा त्यसका प्रभाव प्रस्ट देखिन्छ ।”

कला क्यानभासमा मात्र सीमित नभई यसमा भावनाको सशक्त सम्बोधन हुन्छ भन्ने मान्यता राख्नुहुने कलाकार रीता भन्नुहुन्छ–“रङ र कुचीमार्फत् भावनाको अभिव्यक्ति प्रस्तुत गर्न सांस्कृतिक विषयलाई छाने । संस्कृतिको महत्व मानव जीवनमा कतिको रहन्छ भन्ने विषयसँग केन्द्रीत रहेर कला रचनामा लागें ।”

कलामा स्नातकोत्तर रीताका पन्ध्रदेखि ६० हजार मूल्य सम्ममा कलाकृति राखिएको प्रदर्शनी मङ्गलबारसम्म रहने जनाइएको छ । उहाँका कृतिहरु जापान, अमेरिका, जर्मनी, डेनमार्क, अष्ट्रेलिया र नेपालमा सङ्कलित छन् । दर्जनौँ कला कार्यशालामा सहभागिता जनाइसक्नुभएकी रीताले प्रतिस्थापन कलाको क्षेत्रमा पनि उल्लेखनीय काम गरिसक्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू