अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

सात दिन भित्र नयाँ योजना पेस गर्न ऊर्जा मन्त्री शाहीको निर्देशन

बिआरटीनेपाल २०७४ भदौ ९ गते ७:२४ मा प्रकाशित
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले नीतिगत सुधार सहितका तत्कालिन र दिर्घकालिन योजनाको खाका सात दिन भित्र पेश गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।  ऊर्जा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७३\७४ को वार्षिक समिक्षा तथा समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले उर्जाक्षेत्र विकासका लागि नयाँ योजनाको खाका माग गर्नुभएको हो ।
उहाँले प्रशासनिक तथा नीतिगत सुधारको योजनाको सूचिपनि माग गर्नुभएको छ ।   उहाँले काम भएन, काम पाइएन भन्दै नबस्न र सात दिन भित्र कार्ययोजना पेस गर्न निर्देशन दिनुभएको हो ।
विशेषगरी जलविद्युत् उत्पादन कम्पनी, जलविद्युत् उत्पादन तथा विकास कम्पनी, विद्युत् विकास विभाग, जल तथा ऊर्जा आयोग, राष्ट्रिय प्रसारण कम्पनीलगायतका निकायलाई कामको सूची पेस गर्न निर्देशन दिनुभएको हो ।
उहाँले परम्परागत तथा नियमित तरिकाले काम गरेर सुधार हुन नसक्ने उल्लेख गर्दै द्रुत विधिबाट काम गर्ने वातावरण मिलाउन र जनताले कुनै पनि गुनासो गर्ने अवस्था आउन नदिन समेत कर्मचारीलाई सचेत गराउनुभयो ।
लगानी गर्न नसक्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्तिको अन्त्यका लागि आर्थिक रुपमा सबल भएका र सवल देखिएकालाई परियोजनाको अनुमतिपत्र दिन, अनुमतिपत्र लिएको दुई वर्षभित्र निर्माण सुरु गराउन र आवश्यक नीतिगत सुधारका लागि के कस्तो गर्नुपर्ने हो त्यसको समेत फेहरिस्त बनाउन समेत उहाँले मातहतका निकायलाई आग्रह गर्नुभयो ।
काम गर्ने तरिकामा सुधार ल्याउन, जनता र मुलुकप्रति उत्तरदायी बन्न तथा पारदर्शी तवरले काम गर्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘ काम सार्ने र जागिर पकाउने तरिकाले अब चल्न सक्दैन । नयाँ सोच जरुरी छ । घिसेपिटे तरिकाले परिवर्तित समयको मागलाई सम्बोधन गर्न सकिदैन ।’
नदी प्रवाहमा आधारित आयोजना भन्दा पनि बहुउद्देश्यिय आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राख्न जोड दिदै उहाँले ऊर्जाको माग र जनताको चाहानलाई सम्बोधन गर्न पनि ठूला आयोजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले जनताको माग र भावनालाई केन्द्रमा राखेर जिम्मेवारीअनुसारको कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।  उज्यालो नेपालको अभियानले जनताका केही हुन्छ र केही गर्न सकिन्छ भन्ने सन्देश गएको भन्दै उहाँले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्ने उहाँको कथन थियो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अरविन्द्र मिश्र, उर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्याय, विद्युत विकास विभागका महानिर्देश नविनराज सिंह, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका पदाधिकारीहरुको सहभागिता थियो ।
प्रतिक्रिया