अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

वोस्टनमा सप्ताह सुरु, दुई दिनमा दुई लाख ७५ हजार डलर उठ्यो

बिआरटीनेपाल २०७४ साउन २५ गते ६:२२ मा प्रकाशित

वोस्टन । हिजोदेखि वोस्टनमा सुरु भएको श्रीमद्भागवत महापुराण तथा सप्ताह ज्ञान महायज्ञ २०१७ को दोस्रो दिन आज सोमवार करिब एक लाख ४२ हजार डलर सङ्कलन भएको छ । सप्ताहको पहिलो दिन आइतबार भक्तजनहरुबाट सवा लाख डलर सङ्कलन भएको कुरा आयोजकहरुले बताएका छन् ।

भक्तजनहरुको उत्साह निकै राम्रो र उत्साहवर्धक देखिएको छ, पं पोखरेलले भन्नुभयो । एक हप्तासम्म सञ्चालन हुने सो महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलले प्रवचन दिनुभएको छ । सप्ताह सुन्न वोस्टन वरपरलगायत अरू विभिन्न राज्यबाट पनि मानिसहरू आएका थिए । पं. पोखरेलले संगीतवद्ध प्रवचनद्धारा स्रोतागणलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । वोस्टनमा एउटा आधुनिक किसिमको सामुदायिक केन्द्र निर्माण गर्नका लागि पशुपतिनाथ तथा बुद्ध फाउन्डेसन अफ न्यूइंगल्याण्डको सहयोगार्थ चन्दा सङ्कलन गर्ने उद्धेश्यले सो महायज्ञ आयोजना गरिएको हो ।

यस अघि हिजो बिहान कलश यात्रा सम्पन्न भएको थियो । कलश यात्रामा एकहजार आठ महिलाको सहभागिता रहने बताइए पनि विविध कारणले महिलाहरूको उपस्थिति केही कम रहेको थियो । त्यसलाई परिपूर्ति गर्न पुरुषहरुले पनि कलश बोकेका थिए ।

कलश यात्रालाई सम्बोधन गर्दै पं पोखरेलले कलशको महत्त्व र यसको उपादेयताका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा लामा तथा बज्राचार्य गुरुहरुले पनि यो सप्ताहको महत्त्व र सामुदायिक केन्द्र निर्माणमा यसले पुर्‍याउने योगदानका बारेमा सम्बोधन गर्नुभएको थियो ।
यो हाम्रो धार्मिक आस्थासँग जोडिएको विषय हो । यसको विशेष महत्त्व छ न्यूह्याम्पसायरबाट आउनुभएका लोक लामा गोलेले भन्नुभयो ।
त्यसै गरी माया थापा र सलिया नेपालले आजको पहिलो दिनको कार्यक्रम उत्साहजनक भएको बताउनुभयो ।

प्रतिक्रिया