अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

सञ्चारकर्मी दीपक श्रेष्ठ ‘वादे कला पुचः’ शुभारम्भमा

बिआरटीनेपाल २०७४ साउन २२ गते ६:३७ मा प्रकाशित

ग्रामीण कला, संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित ललितपुरको दक्षिणी वस्ती चापागाउँका युवा कलाकारहरुले ‘वादे कला पुचः’ मार्फत् बालबालिकालाई कला र सङ्गीतको प्रशिक्षण थालेका छन् । प्रशिक्षण कार्यक्रमको शनिबार क्यानभासमा रंग पोतेर सञ्चारकर्मी दीपक श्रेष्ठ, सुक तुम्रोक र प्रेम देशारले शुभारम्भ गरेका हुन् ।

ऐतिहासिक महत्व बोकेको चापागाउँको पुरानो नाम चम्पापुर हो । जसलाई नेपाल भाषामा वादे भनिन्छ । पुरानो नेवार वस्ती चापागाउँ ऐतिहासिक सम्पदा, संस्कृति, कलाका हिसावले धनी छ । भूकम्पपछि चापागाउँको कला संकटमा छ । त्यसैले यसको जागरण, संरक्षण र प्रवद्र्धनका लागि चापागाउँका युवा कलाकार यतिबेला जुट्ने अभियानमा छन् । त्यसैको पहिलो खुड्किलोको रुपमा कला पुचः गठन गरिएको कलाकार सुरेम देशार बताउँछन् ।

कला पुचःको शुभारम्भसँगै चापागाउँ आसपासका २० जना बालबालिकालाई कला प्रशिक्षण दिन थालिएको छ । बालबालिकालाई चित्रकलासँग नजिक बनाउँदै स्थानीय कला, संस्कृतिको संरक्षणमा जागरण ल्याउन सहयोग पुग्ने विश्वास कलाकार अनिल महर्जनको छ । कला जागरणको यो अभियानमा राजेन्द्र देशार, दिलकुमार देशार, जितेन्द्र देशार, प्रेम देशार, निशा महर्जनको सक्रिय सहभागिता रहेको छ ।

चापागाउँको कला विकासका लागि स्थानीय युवा कलाकारले केहि वर्षदेखि दशैँमा बज्रबाराही मन्दिर क्षेत्रमा खुला चित्रकला प्रदर्शनी समेत गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू