अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

रक्तसञ्चार सेवा दिवस

बिआरटीनेपाल २०७४ साउन १२ गते १८:४१ मा प्रकाशित

नेपाल रेडक्रसले देशका ७२ जिल्लाका १०५ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवामार्फत् आर्थिक वर्ष २०७३/७४ मा देशभरिबाट दुई लाख ३६ हजार सात सय ९९ यूनिट रक्त सङ्कलन गरी तीन लाख ३७ हजार तीन सय २१ बिरामीलाई रगत तथा रक्ततत्व वितरण गरेको छ । यस आ.ब.मा तीन हजार सात सय ५३ वटा घुम्ती रक्त सङ्कलन कार्यक्रमहरू सञ्चालन भएका छन् । 

नेपालमा रक्तसञ्चार स्थापना भएको ५१ औँ वर्ष पुगेको उपलक्ष्यमा आज काठमाडौँमा आयोजित वार्षिकोत्षव कार्यक्रममा यो जानकारी दिइएको हो । अहिले काठमाडौँमा केन्द्रीय स्तरको, विराटनगर, नेपालगञ्ज, पोखरा र चितवनमा गरी चार स्थानमा क्षेत्रीय स्तरको, २२ वटा जिल्ला स्तरको र ४२ वटा आकस्मिक र ३६ वटा अस्पताल रक्तसञ्चार इकाई सञ्चालनमा रहेका छन् ।

काठमाडौँमा आयोजित मूल कार्यक्रममा नेरेसोका अध्यक्ष सञ्जीव थापाले भन्नुभयो, “मानिसलाई रगतको औचत्य र महत्वलाई बुझाएर उनीहरूको चित्त बुझाई सेवा प्रदान गर्नु चुनौती पूर्ण कुरा हो । यस संवेदनशील सेवाको निरन्तरता र पूर्णताका लागि, आपूर्ति सहजताका लागि सबै रक्तदाता संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाल रेडक्रस संस्थागत प्रतिबद्धताका साथ लागि पर्नेछ ।”

५१ वर्षसम्म निरन्तर रक्तसञ्चार सेवा पु¥याएकोमा रेडक्रसलाई धन्यवाद दिँदै नेपाल सरकार जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजकुमार महतोले महिला रक्तदाताहरुको सङ्ख्या १५ प्रतिशतमात्र रहेकाले यो सङ्ख्या बढाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गुणस्तर नियन्त्रण, प्राविधिक र आर्थिक व्यवस्थापनमा नेपाल सरकारको थप सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयोः धेरै संस्थालाई सहयोगीको रूपमा विस्तार गर्नुपूर्र्व सरकारले गुणस्तर नियन्त्रण हुने र रगतको व्यापारीकरण नहुने सुनिश्चित गर्नुपर्दछ ।

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनका अनुसार नेपालमा रक्तदाताहरुमध्ये ९६.९० प्रतिशत पोजेटिभ रक्तसमूह र ३.१० प्रतिशत नेगेटिभ रक्तसमूहका रहेका छन् । त्यस्तै सङ्कलित रगतको नियमित जाँचबाट एचआइभी सङ्क्रमित ०.०४ प्रतिशत र हेपाटाइटिस बि ०.२२ प्रतिशत देखिएको छ । त्यस्तै हेपाटाइटिस सी र सिफलिसको सङ्क्रमित प्रतिशत क्रमशः ०.१७ र ०.३५ रहेको छ ।

रेडक्रस सोसाइटीका उपाध्यक्ष अजीतकुमार शर्मा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उप महामन्त्री हरिप्रसाद न्यौपाने, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका कोअपरेसन प्रमुख प्रमेश पौडेल लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष केन्द्रीय रक्तसञ्चार व्यवस्थापन समितिका सभापति डा. युवराज शर्माले सुरक्षित, चाहिने जति र समयमा नै रगतको आपूर्तिका लागि नेपाल सरकारको दायित्व रहेकोले सरकारले सेवाको स्तरीकरण, गुणस्तरीयता र निरन्तर सेवाका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू, स्वयंसेवी रक्तदाता संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, रक्तदाता, नेपाल रेडक्रस सोसाइटीका कर्मचारीहरू, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।  वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदानको पनि आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू