अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

मेरो सानो भनाई- गौरी जोशी ,एनआरएन अमेरिका अध्यक्ष उम्मेदवार

बिआरटीनेपाल २०७४ असार २४ गते २२:१५ मा प्रकाशित

अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू !
अनिश्चयता र ढिलासुस्तिलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्दैछु ।

म नेपालको लमजुगं जिल्लामा जन्मिएको हुँ । मेरो प्रारम्भिक विद्यार्थी जीवन चितवनमा बित्यो । लमजुगंवाट बसाईसराईसंगै हाम्रो परिवार चितवन रत्ननगर नगरपालिकामा स्थायी रूपमा बसोबास गर्नथालेको हो । म सन् १९९७ मा उच्चशिक्षा अध्ययनका लागि अमेरिका आएको हुँ । मैले पनि अन्य नेपालीहरूले जस्तै अमेरिकामा आएपछिका अधिल्ला धेरै बर्षहरु अत्यन्तै दु:ख र अभावमा बिताएको छु । अरू धेरैका जस्तै विद्यार्थी हुदांका पिडाका अनुभवहरू म सित पनि प्रसस्तै छन् । प्रवासमा सङ्घर्षका ती दिनहरू सम्झिदा अब कसैलाई पनि यस्तो दु:ख र पिडा नहोस् भन्ने कामना गर्दछु । अहिले पनि कुनै पनि विद्यार्थी देख्दा म त्यही दिनको अभाव र पिडा अनि दु:ख झल्झलि सम्झिन्छु । सङ्घर्षका चरणमा दु:ख पर्दा पाएको सानो सहयोग पनि अत्यन्तै ठुलो लाग्छ, यो मैले बुझेको छु ।

लामो समय मैले अमेरिकाका विभिन्न कम्पनीहरुमा काम गरेँ । समय सँगै सोचाहि परिवर्तन गर्दै जीवनमा केही गर्नुपर्छ भन्ने लागेर व्यवसायमा हात हालेंको हुँ । म एकै पटक यहाँ आईपुगेको होइन, अमेरिकी भूमिमा जसरि अरू धेरै नेपालीले दुख्ख कष्ट भोग्नु भएको छ मैले पनि तपाईहरुले झैँ दु:खका दिनहरू भोगेकै भएर अब सबैका लागि केही गर्नुपर्छ भन्ने अठोट लिएर तपाईहरु समक्ष आएको छु ।

मेरो लामो अमेरिका बसाई, यहाँका नेपालीहरूले म प्रति देखाएको सद्धभाव र शूभेच्छालाई साक्षी राखेर एसपालिको एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवारी दर्ता गरेको छु । निर्वाचन समय भन्दा ढिला भएर विभिन्न विवाद आए , यसले अन्तत संस्थालाई हानि गर्‍यो तर, पनि अहिले एनआरएन अमेरिकाको निर्वाचनमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ ।

हामी प्रवासमा वस्नेहरुको चाहना आफ्नो मातृभूमिका लागि र अमेरिकामा रहेका नेपालीहरूका लागि केही गर्नै पर्छ भन्ने दृढ अठोट लिएर म तपाईहरु समक्ष आएको छु । एनआरएन अभियानको सुरुआत पनि यही उद्देश्यले भएको हो । नेपाली नागरिकताको निरन्तरता हाम्रो सुरु देखिकै माग हो । तर, हामीले नागरिकताको निरन्तरतासंगै हामी पनि नेपालमा केही गर्छौ भनिरहेका छौँ र गरिरहेका पनि छौ । एनआरएनवाट अरर्बौको लगानी नेपालमा भइसकेको छ । नागरिकताको सवालमा पनि केही उपलब्धि भएको छ । यतिले मात्रै पुग्दैन , अमेरिकामा थोरै पैसा कमाएर बचाएकाहरुलाई सुरक्षित लगानीको वातावरण हामीले बनाउनु पर्ने छ ।

अमेरिका बस्ने नेपालीका लागि एनआरएन अमेरिका एउटा घरमूली जस्तो रूपमा रहनुपर्छ । अहिले मेरो एजेण्डा यही हो । यहाँ बस्ने नेपालीका लागि एनआरएन अमेरिका आवश्यक पर्दाको सहयोगी संस्था बन्नु पर्छ । म अमेरिकाको जुनसुकै ठाउँमा पुग्दा पनि त्यहाँ बस्ने अधिकांश नेपाली समुदायको माग नै एकजुट भएर अगाडी बढौ भन्ने देखियो । यसैले यसलाई मेलै आफ्नो एजेण्डा बनाएको हुँ ।

नेपाल सरकारमा आधिकारिक रूपमा दर्ता भएर अगाडि बढेको एनआरएन आज नेपाल बाहिर रहेका र नेपाल भित्रका नेपालीबिच पुलका रूपमा काम गर्ने संस्थाको रूपमा मात्र नभई स्वदेश वा विदेशमा रहने सबैलाई एक बलियो आधार मान्न सकिने संस्थाको रूपमा विकसित हुनुपर्ने देखिन्छ । हामी धेरैको सक्रियताले आज एनआरएन मध्येको संसारकै सबैभन्दा धेरै नेपालीहरूको सदस्यता रहेको देशमा पर्छ। सुरुका दिनहरूमा अर्थात् सन् २००७ देखि २००९ सम्मको कार्यकालमा मैले एक जिम्मेवार पदाधिकारीको रूपमा एनआरएन अमेरिकामा काम गर्ने अवसर पाएको थिएँ ।

त्यस समयको एनआरएन अभियान्तको हिसाबले भन्नु पर्दा हामीले अबको केही समय भित्र आईसीसीको निर्णायक तहमा एनआरएन अमेरिकालाई लैजान सक्छौँ भन्नेमा विश्वास लिएको छु । विश्वमा रहेका नेपाली माझ हामीले अमेरिकाको एनआरएनए भित्र एकता देखाई नेतृत्वदायी भूमिका निभाउनु पर्ने जिम्मेवारी पनि रहेको छ ।

स्थापनाका केही वर्षसम्म एनआरएन अमेरिका सीमित घेरामा थियो । तत्कालीन अध्यक्ष शिबकुमार राईजीको कार्यकालमा एनआरएन आम रूपमा अगाडी आयो । यसपछि यसको चासो र महत्त्व आम समुदायमा बढेको हो । पूर्व अध्यक्ष खगेन्द्र क्षेत्रीजीको छोटो कार्यकालमा एनआरएनको सदस्यतामा व्यापक विस्तार भयो । त्यस यता यो संस्था प्रति विश्वास वढिरहेको छ । तर, पनि यहाँ हामी जुन सङ्ख्यामा नेपाली छौँ यस हिसाबले अहिलेभएको सदस्य सङ्ख्या धेरै कम हो । यो संस्था हाम्रो हो भन्ने भावना सबै नेपालीमा बढाउन हामीले छिट्टै रचनात्मक र नेपाली समुदायप्रति लक्षित कार्यक्रम ल्याउनु जरुरी छ । हामीले राम्रो र समुदायको हितमा काम गर्दै जाँदा यो सदस्यता बढ्दै जान्छ । एनआरएनए ले नेपाली खोज्दै सदस्यता बनाउँदै जाने स्थितिको अन्त्य भएर नेपालीहरूले एनआरएनए मा म आफू सहभागी हुन चाहने वातावरण बनाउन सक्नु आजको ठुलो चुनौती हो । अब व्यापक रूपमै नयाँ नयाँ कार्यक्रम लिएर अगाडी बढ्न सक्नुपर्छ अनि मात्र एनआरएनए सित नेपाली समुदायको विश्वास बढ्छ ।

मैले आफ्नो अध्ययन पुरा गरेपश्चात् आफू रहेको राज्य टेक्सासको डल्लासलाई आधार क्षेत्र बनाएर जागिर र व्यवसाय गर्दै आएको छु । विभिन्न सामाजिक काममा सरिक हुँदै स्थानीय लायन्स क्लब र नेपाली समाज टेक्सस जस्ता सामाजिक संस्थाको अध्यक्षको रूपमा जिम्मेवारी लिँदा मात्रै हैन कुनै पनि पद मा नरहदा पनि यहाँका विभिन्न सामाजिक कार्य र नेपालमा समेत अफ्ट्यारोमा आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको सर्बबिदितै छ । आमा फाउण्डेशन मार्फत मैले नेपालमा स्कुल पुर्ननिमार्ण , धार्मिक, साहित्य, तथा सांस्कृतिक स्थलको संरक्षण र निर्माणमा सहयोग गर्दै आएको छु । पछाडि परेको चेपागं जातीको उत्थानकोलागि मेरो सहयोग रहदै आएको छ । एनआरएन अमेरिका सबैको आकर्षणको संस्था बनाउने मुख्य उद्देश्य अनुरूप सबैको साझा अध्यक्ष बन्नुपर्ने बुझेरै मैले यो पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । म यो जात त्यो धर्म यो गुट त्यो पार्टी भनेर हैन नेपाली बनेर अगाडि बढ्दा हामीलाई फाइदा छ भन्ने कुरामा विश्वास राख्छु ।

तपाईहरुले मलाई विश्वास गरेर निर्वाचनबाट अध्यक्षको जिम्मेवारी दिनुभएको खण्डमा एनआरएन अमेरिकालाई आशा लाग्दो र भरपर्दो संस्था बनाउन मैले कुनै पनि कसर बाकी राख्ने छैन भन्ने प्रतिबद्धता जनाउँछु । अमेरिकामा रहनुभएका सबै मतदाताहरु समक्ष मलाई एक पटक मौका दिन आग्रह गर्दछु ।

धन्यवाद सहित !

गौरी जोशी
एनआरएन अमेरिका अध्यक्ष उम्मेदवार
ड्यालस टेक्सस

प्रतिक्रिया