अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

जापानी दूतावासद्वारा चार जिल्लालाई एम्बुलेन्स

बिआरटीनेपाल २०७४ असार २२ गते १०:४० मा प्रकाशित

जापानी दूतावासले नेपाल रेडक्रस सोसाइटीलाई  ग्रामीण स्वास्थ्य सेवालाई सुधार गर्न चार एम्बुलेन्स प्रदान गरेको छ । ती जिल्लामा जाजरकोट, खोटाङ, धनकुटा र रौतहट छन् ।

सन् २०१६ को नोभेम्बर महिनामा पनि सोसाइटीलाई जापानी दूतावासले प्युठान, गुल्मी, उदयपुर र मोरङ जिल्लाका लागि चार एम्बुलेन्स हस्तान्तरण गरिसकेको थियो ।

ती एम्बुलेन्स सोसाइटीले आफ्ना जिल्ला शाखामार्फत व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत बिरामी, औषधि र रगत क्षेत्रमा सञ्चालनमा ल्याउने छ । सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सोसाइटीको केन्द्रीय कार्यलयमा आज आयोजित कार्यक्रममा एम्बुलेन्स हस्तान्तरण गरे भनेसोही कार्यक्रममा सोसाइटीका अध्यक्ष थापाले सम्बन्धित जिल्ला शाखाका अध्यक्ष क्रमशः सनतकुमार कार्की, कुमारसिंह बस्नेत, नरेन्द्र पोखरेल र सञ्जीवकुमार मल्लिकलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।

जापान सरकारको ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत ती एम्बुलेन्स प्रदान गरिएको हो । सो सहायता रु ९८ लाख रहेको छ । सन् १९९२ देखि हालसम्म यस किसिमका १२५ योजनामा जापानले सोसाइटीलाई सहयोग प्रदान गरिसकेको जनाइएको छ ।

विसं २०७२ को भूकम्पपछि सोसाइटीलाई तत्काल मानवीय सहायता र सिन्धुपाल्चोकमा तातोपानीमा फिल्ड अस्पताल सञ्चालनमा पनि जापान सरकारले आफ्ना दूतावास मार्फत सहयोग गरेको थियो । हाल जापानले भूकम्प अति प्रभावित १४ जिल्लामा पुनःनिर्माण, जीविकोपार्जन, स्वास्थ्य सुधारलगायतमा पनि सहयोग जारी राखेको छ ।

सो अवसरमा राजदूत ओगावाले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा सोसाइटीलाई आगामी दिनमा पनि थप सहयोग जारी राखिने जानकारी दिए ।

त्यस्तै सोसाइटीका अध्यक्ष थापाले भूकम्पपछि तत्काल उद्धार, पुनःस्थापना र राहतमा सोसाइटी अग्रभागमा परिचालन भई मानवीय सेवामा जुटेको स्मरण गर्दै अहिले पनि भूकम्प अति प्रभावित १४ जिल्लामा पुनःनिर्माणसित सम्बन्धित काम जारी रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू