अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

‘ब्रिटिस आर एन्ड बी’ गायक जे शन कन्सर्टका लागि काठमाडौंमा

बिआरटीनेपाल २०७४ असार २२ गते ९:५३ मा प्रकाशित

बेलायतका चर्चित अँग्रेजी गायक जे शनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन्  । काठमाडौं दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा आगामी २८ असार (१२ जुलाई) बेलुका ७ बजेबाट कन्सर्ट सुरु हुनेछ ।

सुरुको चार घन्टा नेपाली डिजेहरुको सेसन रहने छ । त्यसपछि राती ११ बजेबाट ‘जे शन साँझ’ मा गायक जे शन प्रस्तुत हुनेछन् । उनले डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीत प्रस्तुत गर्नेछन् ।

आयोजक संस्था युहान इन्टरनेशनलले बुधबार दिउँसो काठमाडौंको होटल सोल्टीमा पत्रकार भेटघाट आयोजना गरी जे शनको कन्सर्ट तयारी पुरा भएको जनाएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सँगीतिक सँृखला अन्तर्गत पहिलो सँृखलामा जे शनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको पत्रकार भेटघाटका क्रममा युहानका प्रबन्ध निर्देशक सानु खानले बताए । नेपालका जे शनका प्रसँसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए ।

खानका अनुसार जे शन सँगीतिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ असार बेलुका काठमाडौं आउने छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ असार बेलुकाका कार्यक्रम सकेर जे शन २९ असार बिहान अमेरिका फर्कने छन् ।

यो कन्सर्टका मार्केटिङ डिरेक्टर मन्चिन शाक्यले डेजा भु क्लबमा जे शनको कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने बताए । २५ सय, ३ हजार र ५ हजार रुपैयाँको टिकट तोकिएको यो कन्सर्टमा टिकट अनुसारको सुविधा दर्शकले पाउने पनि शाक्यले बताए ।

बजाज मोटरसाईकलकी बजार प्रमुख पुनम सिंहले नेपालमा जे शनका लाखौं प्रशँसक रहेको अबस्थामा उनको कन्सर्ट नेपालमा आयोजना गरिनु खुसीको कुरा भएको बताईन् ।

‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र देख्न पाईने भएको छ । सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएकाजेसनले काठमाडौंको साँगीतिक साँझमा राईड इट…, मेक माई लभ…, स्टोलन…, डाउन डाउन…, आइ एम अल योर्स…, लाईक दिस लाईक द्याट…, डान्स विद यु…, स्टे…ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् ।

 

प्रतिक्रिया