अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

डा. विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको सार्वजनिकीकरण

बिआरटीनेपाल २०७४ असार २२ गते ७:४६ मा प्रकाशित

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले लेखेको ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको सार्वजनिकी करण कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रताले नै लोकतन्त्रलाई टिकाउने बताएका छन् । उनले प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उनले सत्यतथ्य सामग्री प्रकाशन तथा प्रसारण गर्न तथा लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी अघि बढ्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले नेपालमा युरोप अमेरिकामा नभएको प्रेस स्वतन्त्रता रहेको बताए । नेपालमा अमेरिका भारतमा भन्दा बढी टेलिभिजन र पत्रपत्रिका रहेको भन्दै देउवाले ती कसरी चलिरहेका छन् भन्ने प्रश्न पनि उठाए । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपयोग गर्न पाउनु पर्ने बताए भने प्राध्यापक पी. खरेलले अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताए ।

पुस्तकमा मिडिया सम्बन्धी कानुनी व्यवस्था, लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकासको, नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी र आर्थिक वातावरण बारेमा विस्तृत चर्चा गरिएको छ । पुस्तकमा डा. विष्टले नेपालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक समेटिएको र सरकारी हस्तक्षेपका सम्भावनाहरूलाई धेरै हदसम्म सीमित गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई बलियो बनाइएको उल्लेख गरेका छन्।

३१३ पृष्ठको यस पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको हो भने यसको मूल्य ४७५ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू