अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

गुरुङ (तमु) समाज न्यूह्यामसरको बनभोज सम्पन्न

बिआरटीनेपाल २०७४ असार १९ गते १३:४६ मा प्रकाशित

न्यूह्यामसर राज्यमा बसोबास गर्ने गुरुङहरुको छाता सङ्गठन गुरुङ (तमु) समाज न्यूह्यामसरले आफ्नो वार्षिक कार्यतालिका अनुसार गृष्मकालिन बनभोज (समर पिकनिक)को आयोजना सम्पन्न गरेको छ । समाजले आफ्नो लोकप्रिय बनभोज कार्यक्रमलाई राज्यस्थित वियरब्रुक स्टेट पार्कमा आयोजना गरेको हो । बनभोज कार्यक्रममा समाजका दूईसयबढी सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न खाद्य परिकारको व्यवस्था गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको थियो । 

यसै गरी बनभोज कार्यक्रमको अवसर पारेर समाजले विभिन्न तहको शैक्षिक योग्यता (ग्य्राजुएशन) प्राप्त गर्ने सदस्यहरूलाई सम्मानसमेत गरेको छ । सम्मानित हुने सदस्यहरूमा स्प्रिङफिल्ड कलेजबाट ह्युमेन सर्भिसेस एण्ड मेण्टल हेल्थ कन्सुलर विषयमा मास्टर्स गर्ने हरिकुमारी गुरुङ, साउदर्न न्यूह्यामसर यूनिभर्सिटीबाट इन्फरमेशन टेक्नोलोजी विषयमा मास्टर्स गर्ने दिब्या गुरुङ, यूनिभर्सिटी अफ न्यूह्यामसरबाट नर्सिङ (एपिआरएन) विषयमा मास्टर्स गर्ने सुनामी गुरुङ र यूनिभर्सिटी अफ मासाच्युसेट्सबाट एस्ट्रोनोमी एण्ड फिजिक्स विषयमा ब्याचलर्स गर्ने निश्चल गुरुङ रहेका छन् । यसै गरी सम्मानित हुने अन्य सदस्यहरूमा म्यान्चेष्टर कम्युनिटी कलेजबाट विजिनेश स्टडिज विषयमा एशोशिएट गर्ने सुमन गुरुङ, सोही कलेजबाट म्यानेजमेण्ट विषयमा एशोशिएट गर्ने अल्का गुरुङ, स्थानीय सेन्ट्रल हाईस्कूल पूरा गर्ने शरद गुरुङ, आशिष् गुरुङ, गारगी गुरुङ, पेमब्रुक एक्याडेमीबाट हाईस्कूल पूरा गर्ने रुपेश गुरुङ र पिन्केर्टन एक्याडेमीबाट हाईस्कूल पूरा गर्ने अप्सरा गुरुङ रहेका छन् । 

सम्मानित हुने सदस्यहरूलाई गुरुङ (तमु) समाज न्यूह्यामसरका अध्यक्ष शम्भूकुमार गुरुङ, समाजका पूर्व अध्यक्ष टोप गुरुङ, समाजका अगुवा सल्लाहकार नरबहादुर गुरुङ तथा न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले खदा तथा सम्मान पत्र प्रदान गर्दैै बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

‘समाजका सदस्यहरूलाई शैक्षिक योग्यता हाँसिल गर्न र भावी पुस्ताहरुलाई पनि पढ्नुपर्छ भन्ने सन्देश बाँड्न हामीले सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएका हौँ’ समाजका अध्यक्ष शम्भूकुमार गुरुङले भने ।

मुनाफारहित संस्थाको रूपमा न्यूह्यामसर राज्यमा दर्ता भएको गुरुङ (तमु) समाज न्यूह्यामसरले नेपाली संस्कार संस्कृति एवं गुरुङ भाषा र परम्पराको संरक्षण सम्बर्धन गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया